भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि भइरहेको नेकपा एमालेको ११औं महाधिवेशनलाई यसपालि अरू राजनीतिक दल मात्र होइन, जेनजी युवाहरूले पनि चासोका साथ हेरिरहेका छन्।
यसपालि एमालेभित्र अध्यक्ष पदका लागि दुई जना प्रमुख दाबेदार छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरि नेतृत्वमा निरन्तरता दिन चाहेका छन् भने उनलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिँदै छन्।
पार्टीभित्र हुने आन्तरिक प्रतिस्पर्धाका लागि एमालेले देशैभरिबाट प्रतिनिधिहरू छानिसकेका छन्। यसरी छानिएका प्रतिनिधिले नै एमालेको नेतृत्वमा को पुग्छन् भन्ने तय गर्नेछन्।
जेनजी प्रतिनिधि उपार्जुन चाम्लिङले जारी महाधिवेशनले एमाले पार्टीलाई परिमार्जन गर्ने विषयमा आफू सकारात्मक रहेको बताए।
एमालेभित्र पनि भदौ २३ र २४ को आन्दोलनलाई सकारात्मक तरिकाले स्विकार्ने ठूलो युवा समुदाय भएकाले आफू आशावादी रहेको उनको भनाइ छ।
'जाँचबुझ आयोगले पनि सम्भवत: ओलीलाई दोषी ठहर गर्नेछ। उहाँ मुख्य दोषी हो। इतिहासको ठूलो अपराधीको नेतृत्वमा उहाँहरू भोलि चुनावमा जानुहुन्छ त?' चाम्लिङले भने, 'मुख्य दोषीको नेतृत्वमा आम जनतामाझ मत माग्न कसरी आउनुहोला? पक्कै पनि अप्ठ्यारो होला। त्यसैले एमाले प्रतिनिधिहरू पनि नेतृत्व परिवर्तनको पक्षमा होलान् भन्ने अपेक्षामा छु।'
उनले एमालेका महाधिवेशन प्रतिनिधिहरूका लागि आफ्ना केही प्रश्न पनि रहेको बताए।
'हामीलाई आतंककारी भन्नुभएको छ। आँकडा हेर्ने हो भने ५२ प्रतिशत मतदाता युवा हुनुहुन्छ। उहाँले ती युवालाई नै आतंककारी भन्नुभएको हो। यसो भन्दा ५२ प्रतिशत मतदाताले उहाँलाई घृणा गर्ने भए। यस्तो अवस्थामा चुनावमा कसरी आउनुहुन्छ त?' उनले भने, 'यो कुरा प्रतिनिधिहरूले ख्याल गर्नुहोला भन्ने लाग्छ।'
अर्का जेनजी प्रतिनिधि माजिद अन्सारीले आफ्नो सामाजिक सञ्जालमार्फत एमाले महाधिवेशन लक्षित शुभकामनासहित अनुरोध सार्वजनिक गरेका छन्।
'नेकपा एमालेका साथीहरूलाई एउटा अनुरोध छ। नेकपा एमाले विगतका थुप्रै आन्दोलनमा निर्णायक भूमिका निभाउँदै आएको पार्टी हो। यसको जग पुष्पलालदेखि मदन भण्डारी र नेपालमा लोककल्याणकारी राज्यको अवधारणालाई चाहिँ अगाडि बढाउने नेताका रूपमा मनमोहन अधिकारी हुनुहुन्थ्यो। कल्याणकारी योजनाहरू अहिले समाजमा सार्थक रूपमा लागू भएको छ। यस्तो गर्विलो इतिहास बोकेको पार्टीले नेताहरू जन्माउने हो। नेताले पार्टीलाई जन्माउने होइन,' उनले भनेका छन्, 'एमाले एउटा व्यक्तिको प्रवृत्तिको दास बनेर नबसोस्। एमालेले आफ्नो गर्विलो इतिहासलाई निरन्तरता दिओस् भनेर शुभकामना दिन चाहन्छु।'
अर्का जेनजी प्रतिनिधि प्रदीप ज्ञवालीले एमालेभित्रको आन्तरिक विषयवस्तु भए पनि देशलाई नयाँ गोरेटोमा डोहोर्याउन सक्ने नेतृत्व चयन हुन आवश्यक रहेको बताए।
'एमालेको महाधिवेशन आन्तरिक विषवस्तु हो। तर जेनजी आन्दोलनपछिको अवस्था र आन्दोलनको मर्म बुझ्नुपर्छ, देशलाई नयाँ गोरेटोमा डोहोर्याउन सक्ने नेतृत्वको अपेक्षा छ,' उनले भने, 'यसका लागि एमालेलाई शुभकामना दिन चाहन्छु र भदौ २३ र २४ गते देखिएका नेतृत्व फेरि नदोहोरिऊन् र नयाँ नेतृत्व आओस् भन्ने चाहना छ।'
यस्तै केही दिनअघि जेनजी युवा तनुजा पाण्डे संलग्न जेन.जी नेपालमार्फत सार्वजनिक अपिलसमेत जारी भएको थियो।
प्रतिनिधिहरूलाई लक्षित गरी रबर स्ट्याम्प नभई विवेकपूर्ण रूपमा निर्णायक बन्न अनुरोध गरिएको थियो।
'नेतृत्व चयन 'खल्तीका लिस्ट' र बन्द कोठाको बार्गेनिङमा होइन, खुला प्रतिस्पर्धा र योग्यतामा आधारित हुनुपर्छ। कोठामा तयार पारिएका निर्णयमा ताली पड्काउने 'रबर स्ट्याम्प' नबन्नुहोस्। 'गुट' को आदेश शिरोपर गर्ने दासत्व होइन, 'योग्यता' र 'भिजन' रोज्ने आँट गर्नुहोस्। प्रश्न र आलोचनालाई निषेध गर्ने होइन, आन्तरिक लोकतन्त्रको रक्षा गर्ने नेतृत्व आजको आवश्यकता हो,' अपिलमा भनिएको छ।
त्यस्तै, पार्टीमाथि लागेको दागलाई मेटाउनका लागि नैतिकवान नेतृत्व छान्न पनि अनुरोध गरेको थियो।
'संवैधानिक नैतिकता र सुशासनको ग्यारेन्टी लोकतन्त्रको जगलाई कमजोर पार्ने, असंवैधानिक अभ्यासलाई प्रश्रय दिने र शासकीय असफलतालाई सामान्य मान्ने नेतृत्व अब स्वीकार्य छैन,' जेन.जी नेपालको अपिल छ, 'हिजोका दागहरूबाट पार्टीलाई मुक्त गर्न र कानुनी शासनको धज्जी उडाउने होइन, सुशासनको नमुना पेश गर्न सक्ने नैतिकवान नेतृत्वलाई अघि बढाउनुहोस्। एमालेको नेतृत्व सत्ताको खेलमा मात्र होइन, राष्ट्रिय निष्ठामा खरो उत्रिनुपर्छ।'
शनिबारबाट सुरू भएको एमाले महाधिवेशन सोमबारसम्म चल्नेछ।