राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिनिधि सभा सदस्य पद नै खारेज भएपछि उनको पार्टीबाट संसदीय दलको नेतामा उपसभापति डोलप्रसाद अर्याल भए।
उपसभापति भएकाले कार्यवाहक सभापति उनलाई बनाउनु स्वाभाविक भएपनि संसदीय दलको नेता पनि उनैलाई बनाउने निर्णयमा प्रश्न उठेको छ।
रास्वपा संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ छन्। लामिछाने दलको नेताबाट हटेपछि उनको स्वाभाविक दाबी थियो। तर सभापति लामिछानेले नै अर्याललाई संसदीय दलको नेता बनाउन प्रस्ताव गरे।
सर्वोच्च अदालतले आफ्नो सांसद पद खारेज गरेको केही घन्टामै लामिछानेले पार्टीमा कार्यवाहक साथै संसदीय दलको नेता पनि अर्याललाई नै बनाउने प्रस्ताव गरेपछि केन्द्रीय समितिबाट उक्त प्रस्ताव पारित भयो। त्यसको केहीबेरमा संसदीय दलको बैठकले पनि अर्याललाई नै दलको नेता मान्ने सर्वसम्मत निर्णय गर्यो।
दलको नेताको पद गएपछि उपनेतालाई नै नेता बनाउन पर्छ भन्ने अभ्यास संसारमा कतै पनि नभएको रास्वपाका प्रवक्ता मुकुल ढकालले बताए।
‘संसदीय दलको नेताको अनुपस्थितिमा उपनेताले काम गर्ने भन्ने अभ्यास हो। तर दलको नेता नै नरहेका बेला भने पार्टीको केन्द्रीय समितिको निर्णयका आधारमा संसदीय दलले गर्ने निर्णयले जसलाई बनाउँछ त्यही नेता हुने हो,’ उनले भने, ‘संसदीय दलको नेताको पद रिक्त भए उपनेतालाई नै नेता बनाउनुपर्छ भन्ने अभ्यास संसारभरि नै छैन।’
रास्वपाभित्र संसदीय दलको नेता उपनेता रहेका श्रेष्ठ नै बनाउनु पर्ने कुरा उठेको थियो।
‘पद्धतिअनुसार त विराजजी नै संसदीय दलको नेता हुनुपर्ने हो,’ रास्वपाका एक नेताले भने, ‘उहाँको दाबी पनि थियो। तर सभापतिले अर्यालजीलाई प्रस्ताव गरेपछि धेरैले उतै समर्थन गरे।’
रास्वपा संसदीय दलका उपनेता श्रेष्ठले भने पार्टी अप्ठेरोमा परेका बेला आफूहरूले सभापतिको प्रस्तावलाई सर्वसम्मत निर्णय गरेको बताए।
‘अदालतको निर्णयपछि हाम्रो पार्टी अप्ठेरोमा थियो। यस्तो बेला पदभन्दा पनि एकजुट भएर निर्णय गर्नुपर्छ, विश्वासको वातावरण चाहिन्छ भनेरै सर्वसम्मत निर्णय भएको हो,’ उनले भने।
पार्टी प्रवक्ता ढकालले संसदीय दलमा कसैले पनि दाबी नगरेको बताउँदै अर्याललाई केही समयका लागि मात्र संसदीय दलको नेता बनाइएको जनाए।
‘अर्यालजीलाई संसदीय दलको नेता केही समयलाई बनाइएको हो। पार्टीको प्रक्रियाअनुसार पछि फेरि संसदीय दलको नेता चुनिन्छ,’ उनले भने।
शुक्रबार राति बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठकले सर्वोच्चको निर्णयका आधारमा लामिछानेलाई सभापतिबाट हटाएर कार्यवाहकमा अर्याललाई नियुक्त गरेको थियो। यो निर्णय आइतबार निर्वाचन आयोगमा पठाएर लामिछानेलाई हटाइएको थियो।
लामिछानेले नागरिकताको पुन: प्राप्ति गरेपछि लामिछानेलाई फेरि पार्टी सभापति बनाउने तयारी रास्वपाले थालेको छ। अहिले केहीबेरमा बस्ने केन्द्रीय समितिमा उनलाई पार्टी सभापति बनाउने एजेन्डा छ।
केन्द्रीय समितिको निर्णय आएपछि निर्वाचन आयोगमा सभापति लामिछानेकै नाम अद्यावधिक गरिने प्रवक्ता ढकालले बताए।
संसदीय दलको नेता बन्न भने उनले फेरि चुनाव जितेर सांसद बन्नुपर्ने छ।
शुक्रबार संवैधानिक इजलासले अमेरिकी नागरिकता त्यागेपछि विधिसम्मत तरिकाले नागरिकताको पुन: प्राप्ति नगरी निष्क्रिय नागरिकताको प्रमाणपत्र प्रयोग गरी प्रतिनिधि सभा सदस्य बनेको भन्दै लामिछानेको उक्त पद बदर गर्ने फैसला गरेको थियो।
सर्वोच्चको निर्णयपछि रास्वपाको सभापति, संसदीय दलको नेता, उपप्रधान तथा गृहमन्त्रीबाट उनी हट्नु परेको थियो।