नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्।
निवास धुम्बाराहीमा बस्ने गरी सभापति देउवाले पदाधिकारी बैठक बोलाएको एक नेताले सेतोपाटीलाई बताए। ‘पदाधिकारीहरू आउने क्रम सुरू भइसकेको छ, केहीबेरमै बैठक बस्छ,’ ती नेताले भने।
सुन प्रकरणमा उच्चस्तरीय समिति बनाउनेबारे सोमबार बेलुकी सत्ता र प्रतिपक्षका दलहरूबीच सहमति भएको थियो। त्यसको मस्यौदा तयार गर्न कार्यदलसमेत बनेको छ। कार्यदलमा कांग्रेसबाट प्रमुख सचेतक रमेश लेखक पनि छन्।
यो पनि: सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठनमा सर्वदलीय सहमति
सभापति देउवाले यसबारे र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक राखेको ती नेता बताउँछन्।
मंगलबार दिउँसो २ बजे सत्ता र प्रतिपक्षका शीर्ष नेताबीच पुन: सर्वदलीय बैठक बस्दैछ। उक्त बैठकमा उच्चस्तरीय समिति बनाउने सहमति गर्दै सदन खुलाउने तयारी छ।
कांग्रेस संसदीय दलले भने सुन प्रकरण सिआइबीले नै टुंगोमा पुर्याउने र उच्चस्तरीय समिति आवश्यक नरहेको निष्कर्ष निकालेको थियो।
साथै पदाधिकारी बैठकमा आन्तरिक विषयबारे पनि छलफल हुनेछ। कांग्रेसले साउन २० देखि ३० गतेसम्म केन्द्रीय सदस्यहरूलाई ७७ जिल्ला पठाएर संगठन सुदृढीकरणका लागि आन्तरिक कार्यक्रमसमेत गरिसकेको छ।
अब भदौ १० देखि २४ गतेसम्म संगठन सुदृढीकरणका लागि अर्को अभियानसमेत हुनेछ। साउन २ देखि १० गतेसम्म चलेको केन्द्रीय समितिले पारित गरेको वार्षिक कार्ययोजनाअनुसारका कार्यक्रम सञ्चालन गर्नेबारे पदाधिकारी बैठकमा छलफल हुनेछ।
यो पनि: सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समितिको पक्षमा उभिएन कांग्रेस