नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टी पङ्क्तिमा आलस्यता, निराशा, निष्क्रियता, पलायनता जस्ता कमजोरी देखिएको स्वीकार गरेका छन्।
मंगलबारबाट सुरू भएको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टीमै रहेका कतिपय व्यक्तिहरूबाट पार्टीको बदख्वाइँ गर्ने काम भइरहेको बताएका हुन्।
‘पार्टी हामीले चाहे जसरी अगाडि बढ्न सकेको छैन। पार्टी पंक्तिमा आलस्यता, निराशा, निष्क्रियता, पलायनता जस्ता कमजोरी देखिएका छन्। यस प्रकारका कमजोरी देखिनुका विभिन्न कारणहरू छन्। सबभन्दा प्रमुख कारण पार्टीमै रहेका कतिपय व्यक्तिहरूबाट पार्टीको बदख्वाइँ गर्ने अनुशासनहीन र अराजक कार्य हो। त्यस्तो कार्य गर्ने केही व्यक्ति पार्टीबाट पलायन भएर गइसकेका छन्। यदि कसैबाट अझै पनि त्यस प्रकारको दुष्कर्म भइरहेको छ भने तुररून्त रोकिनु पर्छ,’ राजनीतिक प्रतिवेदन पेश गर्दै उनले भने।
यस्ता गलत कार्यलाई विगतमा नियन्त्रण नगरिएको भए पनि अब छुट दिन नसकिने उनले बताए। पार्टीका सिद्धान्त, विचार र दृष्टिकोणको दृढतापूर्वक पक्षपोषण गर्ने आँटको कमी, जिम्मेवारी लिने तर वहन नगर्ने प्रवृत्ति बढेको पनि उनले औंल्याएका छन्।
‘आत्मविश्वासको कमी छ, पार्टी सानो छ भन्ने लघुताभाष छ, प्रत्यक्ष रूपमा कुनै लाभ प्राप्त नभएको असन्तुष्टि छ, विरोधीले फैलाएका भ्रम र सामाजिक सञ्जालमार्फत भएका कुप्रचारको प्रभाव र हाम्रो प्रचार कार्य कम भएको छ,’ उनले पार्टी चाहेअनुसार अगाडि बढ्न नसक्नुका कारण औंल्याउँदै भनेका छन्।
अब यस कमी कमजोरीहरूलाई हटाउँदै निराशालाई चिर्ने, आशा र उत्साह जगाउने, प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुपर्ने खाँचो उनले देखेका छन्।
यो पनि-
माधव नेपालको राजनीतिक प्रतिवेदनः जबजको सान्दर्भिकता अझै छ (पूर्णपाठ)