नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक बिहीबार सकिँदैछ।
केन्द्रीय कमिटीको बैठक बिहीबार ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दैछ।
आज टोली नेताहरूले आ–आफ्ना समूहको निष्कर्ष राख्नेछन्। त्यही आधारमा वार्षिक कार्ययोजना बनाउँदै बैठक सकिने स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिए।
मंगलबारबाट सुरू भएको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संगठन शुद्धीकरण र सुदृढीकरणको अवधारणा प्रस्तुत गरेका थिए। त्यस्तै उपाध्यक्ष विष्णु पौडेलले जनतामा आधारित पार्टी निर्माण र एमालेभित्र देखापरेका समस्या औंल्याउँदै कार्ययोजना प्रस्तुत गरेका थिए।
उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय हित र जनसरोकारसँग सम्बन्धित अवधारणा प्रस्तुत गरेका थिए।
बुधबार नौवटा समूह बनाएर ती प्रस्तावमाथि एमालेले छलफल चलाएको थियो।
![4442-1708569040.jpg](https://www.setopati.com/uploads/posts/4442-1708569040.jpg)
छलफलमा भाग लिएका अधिकांश केन्द्रीय सदस्यले समस्या माथितिरै औंल्याएका थिए।
पार्टीभित्र आर्थिक, नैतिक, चारित्रिक विचलन देखापरेको नेतृत्वको विश्लेषण सही, वस्तुपरक भएको भन्दै त्यसलाई सुधार गर्न नेतृत्व तहबाटै शुद्धीकरण सुरू गर्नुपर्ने औंल्याएको स्थायी कमिटी सदस्य तामाङले बताए।
‘सबैले आफूलाई केन्द्रमा राखेर सोचेको हुन्छ। पार्टी संगठनमा पनि त्यही हो। पार्टी बन्दा आफू पनि बन्छु भनेर हेरेको हुन्छ,’ उनले भने, ‘नेतृत्वले जेजे समस्या औंल्याएका छन्, त्यसमाथि बोल्ने अधिकांश सदस्यले माथिबाटै शुद्धीकरण हुँदै आउनुपर्ने बताउनुभएको छ। पार्टी सदस्यले केन्द्रीय कमिटीलाई दोष देखाउने, केन्द्रीय कमिटीले पोलिट्ब्युरो, पोलिट्ब्युरोले स्थायी कमिटी हुँदै अन्ततः नेतृत्वमै ठोक्किन आउँदोरहेछ!’
पोलिट्ब्युरो सदस्य ठाकुर गैरले बैठकमा राजनीतिक प्रतिवेदन नआउँदा छलफल व्यवस्थित हुनबाट चुकेको बताए।
‘राजनीतिक दस्तावेज आएको भए अहिले भइरहेको छलफल त्यसको अंग बन्न सक्थ्यो। भोलि तलतल लगेर छलफल गराउने परिस्थिति बन्थ्यो,’ उनले भने, ‘राजनीतिक दस्तावेज नहुँदा बहस छिरलिएको छ। तथापि पार्टी निर्माण, संगठन सुदृढीकरणका दृष्टिले छलफल सघन भएको छ।’
समूह छलफलमा तलका कमिटीहरू चलेनन्, निर्णय कार्यान्वयन भएन भनेर नेतृत्वले औंल्याइरहँदा आफ्नो अनुहार पनि हेर्नुपर्ने आवाज उठेको गैरेले बताए।
‘महाधिवेशन यता पोलिट्ब्युरो बैठक बस्न नसकेको, स्थायी कमिटी बैठक पनि बस्न नसकेको कुरा पनि समूह छलफलमा भएका छन्,’ उनले भने।
समूह छलफलमा उठेका यी विषयलाई एकीकृत गर्दै बिहीबार बिहान ११ बजे बस्ने केन्द्रीय कमिटी बैठकमा समूह नेताहरूले प्रस्तुत गर्नेछन्।
उनीहरूले प्रस्तुत गरेको समूहको निष्कर्षलाई स्थायी कमिटी, सचिवालयसम्म लगेर छलफल गराउने महासचिव शंकर पोखरेलले बैठकमा बताएको गैरेले जानकारी दिए।
समूह छलफलको निष्कर्षहरूकै आधारमा संगठन शुद्धीकरण र सुदृढीकरणको वार्षिक कार्ययोजना बन्ने पनि गैरेले बताए।
‘२०८१ सालभरि संगठन शुद्धीकरण र सुदृढीकरणको अभियान चलाउने पार्टी केन्द्रको योजना छ। तदनुरूप नै केन्द्रीय कमिटीमा सघन छलफल गराइएको हो,’ उनले भने।
यो पनि
एमाले केन्द्रीय सदस्यहरूको सुझाव‒ समस्या नेतृत्वमै छ, शुद्धीकरण माथिबाटै थालौं
एमालेमा बहसः पार्टीभित्र आर्थिक र यौन आचरणमा कानुनी र नैतिक बन्धन तोड्ने प्रवृत्ति बढ्यो