भारतीय चामललाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्थमन्त्री स्कट बेसेंटबीच सोमबार राति कुराकानी भएको छ।
भारतले अमेरिकामा सस्तो चामल पठाइरहेको भन्दै राष्ट्रपति ट्रम्पले 'डम्पिङ' को आरोप लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम 'बिबिसी' ले जनाएको छ।
ह्वाइट हाउसमा भएको एक बैठक क्रममा ट्रम्पले आफ्ना अर्थमन्त्री स्कट बेसेंटसँग भने, 'यसका लागि भारतलाई अतिरिक्त भन्सार महसुल तिराउनुपर्छ।'
जबाफमा स्कट बेसेंटले भने, 'होइन सर! भारतसँग हाम्रो व्यापार वार्ता चलिरहेको छ।'
'हो, तर उनीहरूलाई यसरी आफ्नो चामल अमेरिकामा डम्प गर्न दिनुहुँदैन,' ट्रम्पले भने, 'हामी भारतलाई यस्तो अनुमति दिन सक्दैनौं।'
बैठकमा ट्रम्पले अमेरिकी कृषकहरूको हित कसरी जोगाउने भन्ने विषय उठाउँदै अर्थमन्त्रीलाई भने, 'अमेरिकी कृषकहरूलाई मर्का पर्ने गरी भारतलाई यसरी चामल पठाउन दिनु हुँदैन। यसलाई रोक्नुपर्छ।'
यसै क्रममा ट्रम्पले विदेशी मुलुकमाथि लगाइएको भन्सार महसुलबाट उठेको रकममध्ये १२ अर्ब डलर अमेरिकी कृषकलाई सहयोगस्वरूप दिने घोषणा गरेका छन्।
ट्रम्पले भारतीय चामलमाथि उठाएको चासोले भारतलाई थप भन्सार महसुल लाग्न सक्ने आशंका बढेको छ।
हाल अमेरिकाले भारतका उत्पादनमाथि कुल ५० प्रतिशतसम्म महसुल लगाइसकेको छ। यसमा रूसबाट तेल किनेको भन्दै लगाइएको २५ प्रतिशत 'पेनाल्टी महसुल' पनि सामेल छ।
अमेरिकी किसानहरूको आरोप छ — भारत, भियतनाम र थाइल्यान्ड जस्ता देशले चामल लगायत कृषि उत्पादन अत्यन्तै सस्तो मूल्यमा निर्यात गर्दा उनीहरूको बजार जोखिममा परेको छ।
यो चेतावनी भारतका लागि संवेदनशील समयमा आएको छ। रूसबाट तेल किनेको विषयलाई लिएर अमेरिकाले लगातार भारतको आलोचना गर्दै आएको छ। भारतले भने आफ्नो ऊर्जा नीति उपभोक्ताको हित र बजार स्थायित्वमा केन्द्रित रहेको दाबी गर्दै आएको छ।
हालै रूसी राष्ट्रपति भ्लादिभिर पुटिन भारत भ्रमणमा आएका थिए। प्रधानमन्त्री नरेन्द्र मोदीसँगको निकट सम्बन्धबारे रूसी सञ्चार माध्यमहरूले सकारात्मक रूपमा रिपोर्ट गरेका थिए, जसले अमेरिकी प्रशासन असहज भएको टिप्पणी पनि आएको छ।
भारत विश्वको सबभन्दा ठूलो चामल उत्पादक र निर्यातकर्ता हो। भारतले वार्षिक करिब १५ करोड मेट्रिक टन चामल उत्पादन गर्छ, जुन विश्व उत्पादनको करिब २८ प्रतिशत हो।
सन् २०२४–२५ मा विश्वभर निर्यात भएको कुल चामलमध्ये ३० प्रतिशतभन्दा बढी हिस्सा भारतको थियो।
भारतबाट सबभन्दा धेरै निर्यात हुने चामलमा बासमती, नन-बासमती लगायत पर्छन्।