युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सहयोगी देशहरूबाट सुरक्षा ग्यारेन्टी भए तीन महिनाभित्र राष्ट्रपतिको चुनाव गर्न आफू तयार रहेको बताएका छन्।
बुधबार पत्रकारहरूसँगको कुराकानीमा जेलेन्स्कीले सहयोगी राष्ट्रहरूले सुरक्षाको ग्यारेन्टी गर्न सक्छन् भने ६० देखि ९० दिनभित्र युक्रेनमा राष्ट्रपतिको चुनाव गर्न सकिने बताएका हुन्।
सन् २०१९ मा राष्ट्रपति चुनिएका जेलेन्स्कीको कार्यकाल अघिल्लो वर्ष नै सक्किसकेको छ।
तर २०२२ देखि युक्रेन रूससँग युद्धमा रहेका कारण त्यहाँ निर्वाचन हुन सकेको छैन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै युक्रेनले युद्धलाई बहाना बनाएर चुनाव टारिरहेको भनेका थिए।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जेलेन्स्की वैध राष्ट्रपति होइन भन्दै उनीसँग राष्ट्रपतिको हैसियतमा वार्ता नगर्ने भनेका थिए।
जेलेन्स्कीले मिसाइल र ड्रोन हमला भइरहेको अवस्थामा निर्वाचन सम्भव नभएको बताएका हुन्।
'कसरी मतदान गरिन्छ, कहाँ मतदान हुन्छ? मिसाइल आक्रमण भइरहँदा ती प्रश्नहरू महत्वपूर्ण छन्,' उनले भने।
उनले युक्रेन सरकारले युद्धकालीन अवस्था (मार्शल ल) मा पनि लोकतान्त्रिक प्रक्रिया सुनिश्चित गर्न कानुनी संशोधनका लागि संसदलाई तयार गराउन लगाइएको बताए।
त्यस्तै, युरोपेली साझेदार र अमेरिकासँग मिलेर एक अद्यावधिक शान्ति प्रस्ताव विकास भइरहेको जानकारी दिए।
'युक्रेनका लागि अहिले सबैभन्दा ठूलो चुनौती बनेको छ — कस्तो अवस्थामा, कस्तो सुरक्षा व्यवस्था, र कुन प्रणालीमार्फत युद्धकै बीचमा चुनाव सम्भव हुन्छ भन्ने,' जेलिन्स्कीले भने, 'हामी तयार छौं। तर सबैभन्दा पहिले, सुरक्षाको ग्यारेन्टी चाहिन्छ।'
जेलेन्स्कीले रूसले कब्जा गरेको क्राइमिया फिर्ता ल्याउने शक्ति अहिले युक्रेनसँग नभएको पनि बताए।
'आजको दिनमा हाम्रो शक्ति पर्याप्त छैन,' के क्राइमियालाई फिर्ता ल्याउने शक्ति र अन्तर्राष्ट्रिय समर्थन छ कि छैन भनेर पत्रकारले सोधेको प्रश्नमा जेलेन्स्कीले भने।
२०१४ मा रूसले क्राइमिया कब्जा गरेपछि निरन्तर संघर्ष गर्दै आएको छ।
पछिल्लो समय अमेरिकाले प्रयास गरेको शान्ति योजनामा सहमति हुन सकेको छैन।
रूसले डोनबास क्षेत्रमा आफ्नो नियन्त्रण दाबी गरेको छ।
त्यसमा युक्रेन र युरोपेली मुलुकले भने अस्वीकार गरेको छ।
रूसी राष्ट्रपति पुटिनले आक्रमण गरेर पनि डोनबास क्षेत्र नियन्त्रणमा लिने बताए।