गोरखामा ३७ वर्षसम्म सरकारी विद्यालयमा पढाएर निवृत्त भएका शिक्षकलाई हेलिकप्टर चढाएर बिदाइ गरिएको छ।
धार्चे गाउँपालिका २ केरौंजास्थित रून्चेतको गण्डकी माध्यमिक विद्यालयका प्रधानाध्यापक ईन्द्रबहादुर उपरकोटीलाई विद्यार्थी, भूतपूर्व विद्यार्थी, अभिभावक र गाउँलेहरूले मंगलबार हेलिकप्टर चढाएर बिदाइ गरेका हुन्।
विद्यालय स्थापनाकालदेखि नै योगदान दिएका गणित र अंग्रेजी विषय पढाउने शिक्षक उपरकोटीलाई भूतपूर्व विद्यार्थीहरूले एक-दुई हजारका दरले पैसा संकलन गरेर हेलिकप्टर चार्टर्ड गरी बिदाइ गरेका हुन्।
वडाध्यक्ष सरोज गुरूङले सेतोपाटीलाई दिएको जानकारीअनुसार स्थानीय विद्यालयमा लामो समय सेवा गरेका शिक्षक र उनकी श्रीमती माया उपरकोटीलाई हेलिकप्टरबाट बिदाइ गरेर काठमाडौं पठाइएको हो।
‘हामीले हेलिकप्टर चार्टर्ड गरेर उहाँहरूलाई काठमाडौंसम्म पठायौं, त्यहाँबाट जहाजमार्फत् चितवनको भरतपुर पठाउँछौं,’ उनले भने। गोरखा घर भएका उपरकोटीको परिवार केही समयदेखि भरतपुरमा बसोबास गर्दै आएका छन्।
भूपू विद्यार्थीहरूले तीन लाख ५५ हजार जति रकम संकलन गरेका थिए। दुई लाख ५ हजार रकमबाट फिस्टेल एयरको हेलिकप्टर चार्टर्ड गरिएको हो। विद्यालयमा कार्यक्रम गरी फूलमालासहित सम्मान गरेर स्थानीयले शिक्षकलाई हेलिकप्टरमा चढाएका थिए।
वडाध्यक्ष गुरूङका अनुसार उपरकोटी प्राथमिक तहको दरबन्दीका शिक्षक हुन् तर माविसम्म पढाउने गर्थे। उनले २०४५ साल फागुन १९ गतेदेखि यो विद्यालयमा पढाउन सुरू गरेका थिए। साथै उनले विद्यालयलाई निम्न माध्यमिक र माध्यमिकसम्म स्तरउन्नति गर्न योगदान गरेको उनको भनाइ छ।
यही विद्यालयमा पढेका तर हाल रोजगारीका सिलसिलामा स्वदेश र विदेशमा रहेका भूपू विद्यार्थीहरूले पैसा संकलन गरी 'गुरूलाई सम्मान' गर्न भन्दै हेलिकप्टर चार्टर्ड गरेका हुन्। शिक्षक उपरकोटीले अझै एक-दुई वर्ष सेवा गर्ने चाहना राखे पनि स्वास्थ्यले साथ दिएको थिएन।
विद्यालयले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै शिक्षक उपरकोटीले आफूले अरू शिक्षकजस्तै सेवा गरेको बताए। ‘मैले त आफ्नो काम गरेको थिएँ, यतिका वर्ष पढाएँ, नसोचेको र नसुनेको खालको सम्मान पाएँ,’ उनको भनाइ थियो।
शिक्षकलाई बिदाइ गरेर पठाउन चार्टर्ड गरिएको हेलिकप्टर प्राङ्गणमै अवतरण गरिएको थियो। सम्मान कार्यक्रम स्थलबाट शिक्षक उपरकोटीलाई स्थानीयले बोकेरै हेलिकप्टरमा पुर्याउँदा विद्यार्थी, शिक्षक र अभिभावक भावुक बनेका थिए।
