राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको आठौं महाधिवेशन समयमै गर्न नसकिएको बताएका छन्।
सातौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका लिङ्देनसहित यो केन्द्रीय समितिको कार्यकाल मंसिर १७ गते सकिएको थियो।
तर राप्रपाले त्यसअघि नै केन्द्रीय कार्यसम्पादन समिति बैठक गरेर सबै समितिको म्याद ६ महिना थप्ने निर्णय गरेको थियो।
आजबाट सुरू भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष लिङ्देनले आठौं महाधिवेशन समयमै गर्न नसकिएको बताएका हुन्।
‘हामीले समयमै जिल्ला अधिवेशनहरू समयमै गर्न नसक्दा समयमै आठौं महाधिवेशन गर्न सकिएन। कार्यसम्पादन समिति बैठकबाट ६ महिनाभित्रमा महाधिवेशन सम्पन्न गर्ने गरी सबै तहको कार्यकाल थपिएको छ,’ अध्यक्ष लिङ्देनले भने।
उनले स-साना विषयमा बैठकहरू अवरूद्ध गर्न नहुनेमा जोड दिए भने एकताबद्ध रूपमा अघि बढ्नुपर्ने बताए।
अध्यक्ष लिङ्देनले 'राजा, दलहरू र जेनजी' बीच नवीन समझदारी गरेर जान राप्रपाले जनदबाब सिर्जना गरेर जानुपर्ने बताए। उनले आन्दोलन र निर्वाचनका लागि तयारी गर्नुपर्ने बताए।
राप्रपालाई अबको निर्वाचनबाट पहिलो पार्टी बनाउने गरी एकताबद्ध भएर जानुपर्ने लिङ्देनको भनाइ थियो।