नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगसमक्ष पार्टी अध्यक्ष केपी शर्मा ओलीले बयान दिनुपर्ने बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले तत्कालीन अवस्थामा सरकार प्रमुख भएका कारण ओलीले जाँचबुझ आयोग समक्ष बयान दिनुपर्ने बताएका हुन्।
'सरकारले बनाएको आयोग हो। हाम्रा कतिपय रिजर्भेसन होला तर बयान दिन जानुपर्छ। म भएको भए जान्थेँ। अझै अगाडि नै जान्थेँ होला। त्यसको अवज्ञा गर्नुले राम्रो सन्देश जाँदैन,' उनले भने।
आयोगको अध्यक्षका विषयमा भने प्रश्न उठ्नु जायज रहेको उनको भनाइ थियो।
'भदौ २३ र २४ गतेको घटनालगत्तै जसरी सामाजिक सञ्जालमा आफूलाई एउटा मान्यताको आधारमा उभ्याउनुभयो तिनै व्यक्ति आयोगको अध्यक्ष हुँदा निष्पक्ष छानबिन कसरी होला भन्ने प्रश्न हो यो,' उनले भने।
तर बयान दिन जाने कुरालाई अन्यथा लिन नहुने वरिष्ठ उपाध्यक्ष पोखरेलले बताए।
'आयोगमा बयान दिन जाने, भन्न जाने,तथ्यहरू प्रस्तुत गर्न जाने विषयलाई अन्यथा लिनुहुँदैन। जानुपर्छ। हाम्रो अध्यक्ष पनि जानुहुन्छ,' उनले भने।
अध्यक्ष ओलीले भने आयोगसमक्ष बयान नदिने बताउँदै आएका छन्।