नेकपा (एमाले)को एघारौं महाधिवेशन मंसिर २७ देखि काठमाडौंमा हुँदैछ।
तीन दिन चल्ने महाधिवेशनबाट पार्टीको आगामी नेतृत्वको टुंगो लाग्नेछ।
केपी शर्मा ओली तेस्रो कार्यकाल पार्टीको नेतृत्वको तयारीमा छन्।
उनलाई पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिने भएका छन्।
पोखरेलले बुधबार काठमाडौंमा सम्पादकहरूसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले नेतृत्वको विषयमा महाधिवेशनसम्म सहमति हुन पनि सक्ने बताएका छन्। तर त्यसका लागि एउटा मात्रै सर्त रहेको उनले बताए।
'अहिलेको सन्दर्भमा उहाँ (ओली) संरक्षक भएर बस्ने। अभिभावको भूमिका खेल्ने र अबको अध्यक्ष फलानो भनेर हलबाट घोषणा गर्नुभयो भने सहमति हुनसक्छ,' उनले भने।
त्यो भन्दा बाहेकको अवस्थामा चाहिँ कुनै हालतमा सहमति नहुने उनले बताए।
उनले अध्यक्षमा ओलीले आफू बाहेक अरू कसैको पनि नाम घोषणा गरेको अवस्थामा सहमति हुने बताए।
'मभन्दा बाहेकको नाम घोषणा गर्नु भयो भने पनि त्यसमा समर्थन रहन्छ,' उनले भने।
अध्यक्षसँग अरू पदाधिकारीमा पनि प्यानल नै बनाएर जाने कुरामा भने छलफल हुन बाँकी नै रहेको वरिष्ठ उपाध्यक्ष पोखरेलले बताए।
पोखरेलले हार जित जे भए पनि परिणामलाई स्वीकार गर्दै पार्टीमा सक्रिय हुने बताए।
परिणाम स्वीकार्न नसक्ने यो संस्कारको कमजोरी हो। विजय प्राप्त नभए एमालेको पक्षमा एमाले भएरै सँधै भइरहन्छौं । किन्चित तलमाथि हुँदैनौं,' उनले भने।