नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्र झापा ३ बाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको लर्को लागेको छ।
झापा ३ बाट कांग्रेसले प्रत्यक्षतर्फ आठ जनाको र समानुपातिकतर्फ ११ जनाको नाम सिफारिस गरेको क्षेत्रीय सभापति गणेश पोखरेलले जानकारी दिए।
यसअघि २०७४ र २०७९ को निर्वाचनमा यो क्षेत्रमा सिटौला राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए।
अहिले सिटौला राष्ट्रिय सभामा छन्। राष्ट्रिय सभामा रहेका कारण उनको नाम सिफारिस भएन। तर, सिफारिस भएकाहरूमा अधिकांश उनी निकटकै छन् भने सिटौला पुत्रको नाम पनि सिफारिस भएको छ।
भद्रपुर नगरपालिकाका मेयर समेत रहेका क्षेत्रीय सभापति पोखरेलका अनुसार सिफारिस गरिएका उम्मेदवारको १ नम्बरमा नविन विमली छन्। हाल कांग्रेस झापाका सचिव रहेका युवा नेता विमली सिटौलाका निकट व्यक्ति हुन्।
प्रत्यक्षतर्फ सिफारिसमा परेका अन्य उम्मेदवारहरूमा भगिरथ पोद्धार, शर्मिला अधिकारी, टीकाराज ढकाल, सीताराम खड्का, श्यामप्रसाद सिटौला, राजेन्द्र घिमिरे र देउप्रसाद लाबुङको नाम सिफारिस गरिएको छ। छैटौं नम्बरमा सिफारिस गरिएका श्यामप्रसाद सिटौला कृष्ण सिटौलाका छोरा हुन्।
चौथो नम्बरमा सिफारिस गरिएका टीकाराज ढकाल उद्योगी चण्डीराज ढकालका भाइ हुन्।
झापा–३ मा समानुपातिकतर्फ ११ जनाको नाम सिफारिस भएको छ। जसको १ नम्बरमा सुशीला ढकालको नाम छ। लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय उनी उद्योगी ढकालकी बहिनी हुन्।
समानुपातिकतर्फ सिफारिस भएका अन्यमा हरिकृष्ण घोष, खड्ग राजवंशी, वडाराम हेमरम, सीतादेवी भट्टराई, लता कार्की, उर्मिला गौतम, कृष्णकली राजवंशी, सेलेतुन खातुन, लालबहादुर कन्दङ्वा र शिला तामाङ छन्।