जेन.जी नेपालले नेकपा एमालेको नजिकिएको महाधिवेशनलाई लक्षित गर्दै तीन बुँदामा प्रतिनिधिहरूलाई खबरदारी र युगबोधको अपिल गरेको छ।
युवा तनुजा पाण्डे सहभागी रहेको जेन.जी नेपालले बिहीबार सामाजिक सञ्जालमार्फत अपिल जारी गरेको हो।
जेन.जी नेपालले एमाले महाधिवेशन प्रतिनिधिहरूलाई रबर स्ट्याम्प नभई विवेकपूर्ण रूपमा निर्णायक बन्न अनुरोध गरेको छ।
‘नेतृत्व चयन ‘खल्तीका लिस्ट’ र बन्द कोठाको बार्गेनिङमा होइन, खुला प्रतिस्पर्धा र योग्यतामा आधारित हुनुपर्छ। कोठामा तयार पारिएका निर्णयमा ताली पड्काउने ‘रबर स्ट्याम्प’ नबन्नुहोस्। ‘गुट’ को आदेश शिरोपर गर्ने दासत्व होइन, ‘योग्यता’ र ‘भिजन’ रोज्ने आँट गर्नुहोस्। प्रश्न र आलोचनालाई निषेध गर्ने होइन, आन्तरिक लोकतन्त्रको रक्षा गर्ने नेतृत्व आजको आवश्यकता हो,’ अपिलमा भनिएको छ।
त्यस्तै, पार्टीमाथि लागेको दागलाई मेटाउनका लागि नैतिकवान नेतृत्व छान्न पनि अनुरोध गरेको छ।
‘संवैधानिक नैतिकता र सुशासनको ग्यारेन्टी लोकतन्त्रको जगलाई कमजोर पार्ने, असंवैधानिक अभ्यासलाई प्रश्रय दिने र शासकीय असफलतालाई सामान्य मान्ने नेतृत्व अब स्वीकार्य छैन,’ जेन.जी नेपालको अपिल छ, ‘हिजोका दागहरूबाट पार्टीलाई मुक्त गर्न र कानुनी शासनको धज्जी उडाउने होइन, सुशासनको नमुना पेश गर्न सक्ने नैतिकवान नेतृत्वलाई अघि बढाउनुहोस्। एमालेको नेतृत्व सत्ताको खेलमा मात्र होइन, राष्ट्रिय निष्ठामा खरो उत्रिनुपर्छ।’
तेस्रो बुँदामा आगामी नेतृत्वले आधुनिक विश्वलाई बुझ्ने र युवाको एजेन्डालाई निर्णयको केन्द्रमा राख्ने हुनुपर्ने पनि भनिएको छ। जेनजी युवाहरूले भाषण गर्ने भन्दा पनि नीति र व्यवहारमा भविष्यमुखी सोच भएको नेतृत्व चाहेको बताएको छ।
मंसिर २७ गते देखि मंसिर २९ गतेसम्म काठमाडौंमा नेकपा एमालेको महाधिवेशन हुँदैछ।