बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज पनि नहुने भएको छ।
यसअघिका तीनपटक लामिछाने र जोशीका तर्फबाट पेसी सारिएकोमा गत बिहीबार भने सार्वजनिक बिदा परेको कारण पेसी हुन सकेको थिएन। आजको लागि तोकिएको पेसी पनि हेर्न नमिल्ने भन्दै उच्च अदालत तुलसीपुर बुटवल इजलासले सारेको हो।
उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार लामिछाने र जोशीको मुद्दाको सुनुवाइ आज न्यायाधीशहरू तेजनारायण पौडेल र सागर विष्टको चार नम्बर इजलासमा तोकिएको थियो।
सुनुवाइ तोकिएका न्यायाधीश सागर विष्ट र जाहेरवाला कानुन व्यवसायी शालिकराम पौडेल यसअघि एकै ठाउँ काम गरेको र चिनजानका व्यक्ति भएको भन्दै पेसी सारिएको कुँवरले जानकारी दिए।
‘पहिलेदेखि नै चिनजान र सँगै काम गरेका कानुन व्यवसायी र न्यायाधीशका बीच बहस गर्ने र मुद्दाको सुनुवाइ गर्दा स्वार्थ बाझिने भएकोले न्यायाधीशहरूको बेन्चले हेर्न नमिल्नेमा राखेको हो,’ उनले भने।
यसअघि पनि न्यायाधीश निशा बानियाँको इजलासमा परेपछि हेर्न नमिल्ने भन्दै पेसी सरको उनले बताए।
सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दा गत कात्तिक गत १३ गतेपछि निरन्तर सरिरहेको छ।
बुटवलको सुप्रिम सहकारीको रकम ठगी गरेको भन्दै रवि लामिछाने सहितका चार जना व्यक्तिहरूलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर जिल्ला अदालत रूपन्देहीमा अभियोग पत्र दायर गरिएकोमा लामिछानेले उक्त बिगोमध्ये आफ्नो भागको एक भाग बराबर बिगो बुझाएर रिहा हुन पाउनुपर्ने माग राख्दै अदालतमा निवेदन दिएका थिए।
लामिछानेले बिगोमध्ये आफ्नो भागकोे २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत समेत अदालतमा पेस गरे पनि जिल्ला अदालतले अस्वीकार गरेको थियो। गत साउन २६ गते जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले लामिछानेको भागको बिगो यकिन नभएको भन्दै रिहा गर्न अस्वीकार गरेपछि लामिछानेले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए।
लामिछानेले जस्तै जोशीले पनि आफ्नो भागमा पर्ने बिगोबापतको रकम बुझाएर रिहा गर्न माग गर्दै अदालतमा निवेदन दिएका थिए।
अदालतले लामिछाने र जोशी दुवैको निवेदन एकैसाथ राखेर सुनुवाइ गरिरहेको छ। तर लामिछाने र जोशीका कानुन व्यवसायीले भने पटक पटक सुनुवाइ स्थगित गर्दै आएका छन्।
यसअघि मंसिर ४ गतेको लागि तोकिएको सुनुवाइ पनि लामिछानेकै कानुन व्यवसायीको निवेदनमा स्थगित गरिएको थियो।
मंसिर ४ गते पनि अदालतको ३ नम्बर इजलासका न्यायाधीशद्वय मिलनकुमार राई र सानुमाया डङ्गोलको इजलासमा लामिछाने र जोशीको मुद्दाको सुनुवाइ तोकिएको थियो।
त्यसअघि पहिलो पटक कात्तिक १३ गतेका लागि तोकिएको सुनुवाइ जोशीका कानुन व्यवसायीले निवेदन दिएर सुनुवाइ स्थगित गरेका थिए।
लामिछाने र जोशीको मुद्दा एकै ठाउँ राखेर सुनुवाइ भइरहे पनि लामिछाने र जोशीका कानुन व्यवसायीले अलगअलग निवेदन दिएर तिन पटकसम्म स्थगित भइसकेका छन्।
लामिछाने र जोशीको मुद्दाको गत कात्तिक २० गते भएको सुनुवाइमा उच्च अदालतले जिल्ला अदालतको सुरु मिसिल मगाउने आदेश दिएको थियो। जिल्ला अदालतबाट सुरुको मिसिल प्राप्त भएपछि कात्तिक २७ गते भएको सुनुवाइमा सर्वोच्चबाट मूल अभियोगको सक्कल मिसिल मगाउने आदेश भएको थियो।
सर्वोच्चबाट मूल अभियोगको सक्कल मिसिल आए पनि त्यसपछिका दुई वटै पेसी भने स्थगित गरिएपछि सुनुवाइ हुन सकेको छैन। सहकारीको रकम ठगी गरेको अभियोगमा लामिछाने नख्खु कारागारमा रहेका छन् भने जोशी भैरहवा कारागारमा रहेका रहेका छन्।