नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार र जेनजी प्रतिनिधिबीच बुधबार भएको सम्झौताको औचित्य नहुने बताएका छन्।
बिहीबार काठमाडौंमा सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री नै असंवैधानिक दाबी गर्दै सम्झौताको नाटक गरिएको बताएका हुन्।
आफू सुरूवातदेखि नै सरकारलाई अस्वीकार गर्दै आएकाले त्यसले के सम्झौता गर्यो भन्ने अर्थ नहुने ओलीले बताए।
'उहाँहरूको क्रियाकलाप सम्पूर्ण रूपमा अनधिकृत छ। अनुचित, असंवैधानिक, गैरकानुनी, पूर्वाग्रहपूर्ण छ, प्रतिशोधपूर्ण छ। सरकारको रवैया यस्तो हुनुहुँदैन,' उनले भने।
राष्ट्रपतिले पनि चुनाव मात्रै गर्नू भनेर तोकेको अध्यक्ष ओलीले स्मरण गराए।
'को सँग रिस उठेको छ त्यस आधारमा प्रतिष्ठान मास्न खोज्ने?,' उनले भने।
ओलीले फागुन २१ पछि फागुन २२ पनि आउँछ भन्ने ख्याल गर्न चेतावनी पनि दिए।
'फागुन २१ गतेपछि फागुन २२ गते पनि आउँछ। समय त्यहीँ रोकिने होइन। ध्यान राखेर, होस सम्हालेर चल्न म उहाँहरूलाई सचेत गराउन चाहन्छु,' उनले भने।
जेनजी र सरकारबीच राजनीतिक नेताहरूको नाममा सञ्चालन गरेको प्रतिष्ठान, कोष, केन्द्रलाई राष्ट्रियकरण गर्ने सम्झौता गरेको थियो।