नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस भएका छन्।
सात पटक डडेल्धुराबाट चुनाव जितेका देउवा आठौं पटक उम्मेदवार हुन लागेका हुन्।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सभापति देउवालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाउन सिफारिस गरिएको गन्यापधुरा गाउँपालिकाका अध्यक्षसमेत रहेका कांग्रेस नेता ईन्द्रबहादुर कार्कीले सेतोपाटीलाई जानकारी दिए।
‘हाम्रो आग्रहअनुसार उहाँ आठौं पटक उम्मेदवार हुँदै हुनुहुन्छ, सर्वसम्मत रूपमा उहाँको नाम सिफारिस गरेका छौं,’ उनले भने, ‘जेनजी आन्दोलनमा उहाँमाथि आक्रमण भयो, अब उहाँ सभापति लड्न पाउनु हुन्न। त्यसैले अन्तिम पटक उम्मेदवार बनाएर जिताउँछौं।’
उनीसहित डडेल्धुराका नेताहरूले हालै निवास महाराजगञ्ज पुगेर देउवालाई भेटेका थिए। त्यसक्रममा देउवाले डडेल्धुरामा आफ्नो माहोल कस्तो छ भनेर बुझेका थिए।
गृहजिल्लाका नेताहरूले आग्रह गरेपछि उनले आफू चुनाव लड्ने बताएका थिए। ‘हामीले एक पटक चुनाव लड्न भनेका हौं, हाम्रो आग्रह मान्नुभएको छ,’ उनले भने।
देउवा २०४८ सालदेखिका चुनावमा डडेल्धुराबाट जित्दै आएका छन्।
प्रतिनिधि सभा समानुपातिकतर्फ नरभान कामी र मानकुमारी थापाको नाम सिफारिस भएको छ भने राष्ट्रिय सभातर्फ भीम साउद र रघु भट्टको नाम सिफारिस भएको छ।