नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते सेनाको हेलिकप्टरमा बालुवाटाबाट बाहिरिएको विषयमा फेरि प्रष्टोक्ति दिएका छन्।
बुधबार सम्पादकहरूसँगको अन्तरक्रियामा भदौ २४ गते आफू सेनाको हेलिकप्टर चढेर बालुवाटार छाडेको सन्दर्भ उठेपछि ओलीले पुनः जबाफ दिएका हुन्।
उनले यसपटकको जबाफमा महाकाव्य 'महाभारत' मा उल्लिखित घटना जोडे। त्यसमा कौरवहरूले लाक्षागृहमै पाण्डवहरूलाई जलाएर मार्न खोजेको सन्दर्भ जोडे।
'उसबेला लाक्षा गृहभित्र हालेर पाण्डवहरूलाई डढाएर मार्न खोजेका थिए। एकतिरबाट आगो लगाए उनीहरू अर्कातिरबाट भाग्दिए। भागेकै हुन् पाण्डवहरू। काँतर भएर भागेको होइन। बुद्धि पुर्याएर भागेको हो,' उनले भने।
'बहादुर भएर हातमा धनुवाण समातेर, गधा लिएर साहसका साथ म जल्छु तर भाग्दिनँ भनेको भए उनीहरू जल्थे। जल्न हुँदैनथ्यो। त्यस्ता परिस्थिति आउँदो रहेछ। दुष्टहरूको घेराबन्दी तोड्न पर्ने रहेछ। त्यस्ता प्रयासलाई असफल पार्नुपर्ने रहेछ। जस्तो पाण्डवले पारेका थिए,' ओलीले थपे।
भदौ २४ गते भागेको नभई आफूले बालुवाटार मात्रै छाडेको बताए।
बालुवाटार नछाड्न सक्थेँ। त्यतिबेला के-के खुवाएर बेहोसिमा मानिसहरू ल्याएर आक्रमण गर्न आएका थिए।
'मैले किन बालुवाटा छाडेँ भन्दा नछाड्न सक्थेँ। के-के खुवाएर ल्याएको छ, बेहोसका मान्छे आक्रमण गर्न आउँछन्। आत्मरक्षाका लागि प्रहार गर्दा हताहत हुने भयो। हताहतभन्दा ओल्लो घरबाट पल्लो घर सर्दिएँ भने राम्रो होइन?,' ओलीले भने।
ओलीले आफूले 'केयरटेकर' प्रधानमन्त्रीकै रूपमा रहेको र सोही अनुसार प्रधानमन्त्री सिफारिस गरेको पनि बताए।
'२६ गते राति मैले राष्ट्रपतिज्यूलाई प्रधानमन्त्री हैसियतमा सिफारिस गर्दैछु भने म कहाँ भागे? भागेको ठाउँबाट मैले पठाएँ? राष्ट्रपति र प्रधानसेनापतिले मलाई भेट्नुभयो। हाम्रो कुराकानी भयो र मैले राष्ट्रपति ज्यूलाई सिफारिस गरेँ। त्यो भागेको भयो?,' उनले भने।
उनले बच्चाबच्चीहरूले लखेट्दा भागिदियो भने उनीहरू खुशी हुने पनि बताए।
'उसले खेदेको जस्तो गर्छ, आफू कुद्दिन पर्छ। डरायो, भाग्यो भन्छन्, खुशी हुन्छन् बच्चाहरू,' उनले भने।