नेपाली कांग्रेसले राष्ट्रिय मान्यता प्राप्त दल परित्याग गरी आउनेलाई सिधै क्रियाशील सदस्यता दिने भएको छ।
अरू दल छाडेर आएकालाई सिधै क्रियाशील सदस्यता दिन कांग्रेसले मातहत समितिहरूमा परिपत्र गरेको हो।
यसपालि कांग्रेसले क्रियाशील सदस्यता वितरण उदार ढंगबाट गर्ने नीति लिएको छ। क्रियाशील सदस्यता लिन खोज्नेलाई तत्कालै दिने नीति कांग्रेसको लिएको हो।
विगतमा साधारण सदस्यता लिएको कम्तीमा एक वर्ष पुगेपछि मात्रै क्रियाशील सदस्यता दिइन्थ्यो। तर मंसिर १५ गतेको केन्द्रीय समिति बैठकले अन्य दल छाडेर आउनेलाई सिधै क्रियाशील सदस्यता दिने निर्णय गरेपछि त्यसअनुसार मातहत समितिहरूमा परिपत्र गरिएको हो।
कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्यसमेत रहेका केन्द्रीय सदस्य प्रकाश रसाइली 'स्नेही'ले क्रियाशील सदस्यता वितरणलाई व्यापक र सहज बनाउन लागिएको सेतोपाटीलाई जानकारी दिए।
त्यसअनुसार महामन्त्री गगन थापाले मंसिर २४ गते मातहत समितिहरूलाई क्रियाशील सदस्यता वितरण आधार र मापदण्डसमेत पठाइसकेका छन्।
योग्यता र मापदण्ड पुगेका व्यक्तिलाई क्रियाशील सदस्यता दिइहाल्न महामन्त्री थापाले निर्देशन दिएका हुन्।
यस्ता छन् नयाँ क्रियाशील सदस्यता वितरण आधार र मापदण्ड:
१. नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिन चाहने नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ को उपधारा (१) र (३) बमोजिम योग्यता पुगेका व्यक्तिलाई सहज रुपमा सदस्यता प्रदान गर्ने। कुनै पनि पनि योग्य व्यक्तिलाई सदस्यताबाट वञ्चित नगर्ने।
२. प्रतिनिधि सभाको क्षेत्रमा पार्टीको १४ औं महाधिवेशनमा कायम रहेको क्रियाशील सदस्य संख्याको सामान्यतया शतप्रतिशत नयाँ क्रियाशील सदस्यता फारम प्रतिनिधि सभा क्षेत्रीय सभापतिमार्फत् केन्द्रले उपलब्ध गराउनेछ।
३. यसका अतिरिक्त वडाको जनसंख्या, मतदाता र क्रियाशील सदस्यको अनुपातमा मापदण्ड र क्लष्टर बमोजिम अपुग भएमा वडाले प्रतिनिधि सभा क्षेत्रीय समिति मार्फत माग गरेमा आवश्यकता अनुसार थप सदस्यता वितरण गर्न सक्ने गरी सदस्यता फारम उपलब्ध गराउने व्यवस्था गर्ने।
४. वडाको जनसंख्याभित्र पनि महिला, आदिवासी जनजाति, दलित, मधेशी, खस आर्य, थारु, मुस्लिम, अल्पसंख्यक, सिमान्तकृत, अपाङ्गता भएका व्यक्तिको जनसंख्यालाई मध्येनजर गरी सोही आधारमा समानुपातिक/समावेशी प्रतिनिधित्वलाई ध्यान दिने।
५. नयाँ क्रियाशील सदस्यता वितरण गर्दा १८ देखि ३० वर्षका युवाहरुको व्यापक प्रतिनिधित्व हुने गरी प्राथमिकता दिई वितरण गर्नु पर्ने।
६. समाजमा विभिन्न पेशागत बुद्धिजीवी तथा सामाजिक कार्यमा संलग्न व्यक्तिहरूलाई प्राथमिकता दिनुपर्ने ।
७. निर्वाचनका समयमा पार्टी र उम्मेदवारको पक्षमा मत जुटाउने अभियानमा संलग्न भएका व्यक्तिहरू, पार्टीले आयोजना गरेको प्रशिक्षण, गोष्ठी, अन्तरक्रियालगायत राजनीतिक, सामाजिक, सांस्कृतिक एवं विविध रचनात्मक कार्यक्रमहरुमा सक्रियतापूर्वक सहभागी भएका व्यक्तिहरू र पार्टी वा भ्रातृ संघको माध्यमबाट विकास निर्माण र अन्य सामाजिक कार्यमा
सक्रिय रहेका व्यक्तिहरुलाई क्रियाशील सदस्यता प्रदान गर्न आवश्यक प्रबन्ध गर्ने।
८. राष्ट्रिय मान्यता प्राप्त अन्य राजनीतिक दलबाट नेपाली कांग्रेसमा प्रवेश गरेका व्यक्तिलाई अनिवार्य रूपमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता उपलब्ध गराउने।