भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले पूर्वगृहसचिव गोकर्णमणि दुवाडी र पूर्वआइजिपी चन्द्रकुबेर खापुङको बयान लिन थालेको छ।
बिहीबारदेखि दुई जनाको बयान लिन थालिएको आयोगका प्रवक्ता एवं पूर्वएआइजी विज्ञानराज शर्माले जानकारी दिए।
‘दुबै जनाको बयान सुरू भएको छ,’ उनले भने।
सशस्त्र प्रहरी बलका आइजिपी राजु अर्यालको पनि आयोगले बयान लिन थालेको थियो। उक्त बयान पनि अन्तिम चरणमा पुगेको प्रवक्ता शर्माले बताए।
त्यसैगरी बयानका लागि अहिलेका आइजिपी दानबहादुर कार्कीलाई पनि शुक्रबार बोलाउने तयारी रहेको उनले बताए।
आयोगले उच्चस्तरीय व्यक्तिहरूको बयान लिएपछि तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिने तयारी गरेको छ।
उनीहरूको बयान कसरी लिन्छ भन्ने चासो र चुनौतीको विषय समेत बनेको छ। आयोगले दुबै जनाको बयान जसरी भए पनि लिने बताउँदै आएको छ।