आसन्न महाधिवेशनमा विभिन्न पदका आकांक्षी नेताहरू व्यवस्थापन गर्न गाह्रो परेपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पदाधिकारी संख्या बढाउने तयारीमा लागेका छन्।
शनिबारबाट सुरू हुने ११औं महाधिवेशनको पूर्वसन्ध्यामा शुक्रबार सचिवालय बैठक आह्वान गरेका ओलीले पदाधिकारी संख्या बढाएर १९ पुर्याउन खोजेका हुन्।
भदौमा सम्पन्न विधान महाधिवेशनले पदाधिकारी संख्या १९ बाट घटाएर १५ मा झारेको थियो।
पोलिटब्युरो सदस्य महेश बस्नेतले शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बस्ने जानकारी दिए।
उनका अनुसार पदाधिकारी संख्या र केन्द्रीय कमिटीको आकार बढाउनेबारे छलफल हुनेछ। अहिले केन्द्रीय कमिटी २५१ सदस्यीय छ।
'पदाधिकारी संख्या फेरि १९ पुर्याउने, २५१ सदस्यीय केन्द्रीय कमिटीको संख्या बढाउने र मनोनित प्रतिनिधि टुंग्याउने एजेन्डासहित महत्त्वपूर्ण छलफल हुनेछ,' उनले भने।
शनिबारदेखि एमालेको ११औं महाधिवेशन सुरू हुँदैछ। भक्तपुरको सल्लाघारीमा उद्घाटन हुने महाधिवेशनको बन्द सत्र भृकुटीमण्डपमा सञ्चालन हुनेछ। महाधिवेशनअघि सचिवालय बैठक बस्न लागेको हो।