नेकपा एमाले सचिवालय बैठक आज दिउँसो १ बजे बस्दैछ।
महाधिवेशन संघारमा हुन लागेको यो बैठकमा तीन विषयमा छलफल हुनेछ।
पहिलो, एमालेले पदाधिकारी संख्या बढाउन लागेको छ। अध्यक्ष केपी शर्मा ओली समूहमा आकांक्षीको लर्को लागेर व्यवस्थापनको प्रश्न जटिल बनेपछि त्यसको गाँठो फुकाउन पदाधिकारी संख्या बढाइने निश्चित भएको हो।
एमालेको दोस्रो राष्ट्रिय महाधिवेशनले पारित गरेको विधानमा पदाधिकारी संख्या १९ बाट घटाएर १५ मा झारिएको छ। एमालेमा यो महाधिवेशनबाट लागू हुने गरी अध्यक्ष १, उपाध्यक्ष ३ (वरिष्ठ उपाध्यक्ष नरहने, तीन उपाध्यक्षको वरीयताक्रम केन्द्रीय कमिटीले तय गर्ने), महासचिव १, उपमहासचिव ३, सचिव ७ जना रहने व्यवस्था गरिएको थियो।
तर अहिले उपाध्यक्ष २ र सचिव २ थप्ने गरी पदाधिकारी बढाउन लागि एमाले नेताले बताएका छन्। यद्यपि अध्यक्ष ओलीको चाहना त यसभन्दा पनि बढी रहेको हुन सक्ने नेताहरूको दाबी छ।
त्यस्तै आजको सचिवालय बैठकमा केन्द्रीय कमिटीको आकार ३०१ पुर्याउने प्रस्ताव आउन सक्ने एमाले नेताहरूले बताएका छन्। पोलिटब्युरो सदस्य महेश बस्नेतले त्यसको संकेत गरेका छन्।
उनका अनुसार आजको बैठकमा त्यसको प्रस्ताव आउनेछ। एमालेको मौजुदा विधानमा २५१ सदस्यीय केन्द्रीय कमिटी रहने प्रबन्ध छ। दसौं महाधिवेशनले पारित गरेको विधानमा ३०१ सदस्यीय केन्द्रीय कमिटी रहने भने पनि पछि बढेको थियो। अहिले ३५५ जना केन्द्रीय कमिटीमा छन्।
आजको बैठकमा प्रतिनिधि मनोनीत गर्ने विषय पनि छलफलको सूचीमा रहेको एमाले नेताहरूले बताएका छन्।
विधानतः एमालेमा ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनीत गर्ने प्रावधान छ। यसरी मनोनीत गर्दा १०८ जना प्रतिनिधि थपिनेछन्। महाधिवेशनका लागि २ हजार १५४ जना निर्वाचित भएर आएका छन्। १०८ मनोनीत भए प्रतिनिधिको संख्या २ हजार २ सय ६२ जना पुग्नेछ।
तर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले भने विधान महाधिवेशनले पारित गरेको सचिवालय (पदाधिकार), केन्द्रीय कमिटी संख्या नै कायम हुनुपर्ने अडान राख्दै आएको छ।
आज यो प्रस्ताव आए प्रतिवादको तयारी गरेका छन्। उनीहरूले आज यो प्रस्ताव आए नेतृत्वमा दुई कार्यकालको प्रावधान राख्नुपर्ने काउन्टर प्रस्तावकोसमेत तयारी गरेका छन्।