नेकपा एमाले ११ औं महाधिवेशनको संघारमा आइपुग्दा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले गतिविधि तीव्र पारेका छन्। संस्थापन पक्षले बिहीबार स्वयम्सेवक भेला गरेको थियो।
यसैबीच शुक्रबार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले युवा भेलाको आयोजना गरेको छ। संस्थापन पक्षले महाधिवेशनको व्यवस्थापनसँग सम्बन्धित कतिपय कामहरूमा पोखरेल समूहलाई सहभागी गराएको छैन। महाधिवेशन स्थलमा खटिने स्वयम्सेवकहरूमा पनि ओली पक्षले एकलौटी गरेको उनीहरूको आरोप छ।
त्यसलाई काउन्टर दिने तयारी पोखरेल समूहले गरेको हो।
युवा भेला शुक्रबार बिहान ११ ३० बजे काठमाडौं बैंक्वेटमा आयोजना गर्न लागेको एक नेताले बताए। कार्यक्रममा अध्यक्षका प्रत्यासी ईश्वर पोखरेल लगायतले सम्बोधन गर्ने कार्यक्रम छ।
महाधिवेशन भोलि (शनिबार)बाट काठमाडौं उपत्यकामा सुरू हुँदैछ। उद्घाटन भक्तपुरको सल्लाघारीमा हुनेछ। बन्दसत्र भने काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिनेछ। महाधिवेशन सुरक्षार्थ १० हजार स्वयमसेवक परिचालन गर्ने युवा संघले जानकारी दिएको छ।