नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले आमनिर्वाचन नलड्ने बताएका छन्।
गृहजिल्ला बाजुरा पुगेर उनले माघ ११ गते हुने राष्ट्रिय सभा वा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफू उम्मेदवार नहुने बताएका हुन्।
उनी २०७९ को चुनावमा बाजुराबाट निर्वाचित भएका थिए भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पनि बनेका थिए। जेनजी आन्दोलन हुँदा उनी मन्त्री थिए।
सहमहामन्त्री पाण्डेले जेनजी आन्दोलनको समयमा आफू सरकारमा रहेकाले आन्दोलनरत युवाहरूका मागहरूलाई समयमा र अपेक्षित ढंगले सम्बोधन गर्न नसकिएको अनुभूति रहेको उल्लेख गरे।
उनले आन्दोलनसँग सम्बन्धित तत्कालीन सरकार–आन्दोलनकारी अन्तर्क्रियामा आफ्नो प्रत्यक्ष भूमिका नरहे पनि मन्त्रिपरिषदका सदस्यको नाताले त्यसको नैतिक जिम्मेवारी आफूले लिने बताए।
यही पृष्ठभूमिमा उनले यस पटक निर्वाचन नलड्ने बताएका हुन्।
‘अहिले पार्टीलाई वैचारिक रूपमा सुदृढ बनाउने, संगठनलाई सक्रिय, विस्तारित र प्रभावकारी बनाउने तथा योग्य र सक्षम नयाँ उम्मेदवारलाई अघि बढाउन मार्गदर्शनसहित सहयोग पुर्याउने कार्यमा लाग्ने कुरा उनको अहिले प्रमुख प्राथमिकता बनेको छ,’ उनले भने।
आगामी दिनमा आफ्नो अनुभव, दृष्टिकोण र राजनीतिक प्रतिबद्धतासहित पार्टीमार्फत् मुलुकका लागि अझ प्रभावकारी रूपमा योगदान गर्ने उनले बताए।