राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठकमा केही नेताहरू अनुपस्थित रहेको पाइएको छ।
केन्द्रीय समिति बैठक बुधबारदेखि सुरू भएर आज सकिँदैछ।
वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रवीन्द्र मिश्र, मुकुन्दश्याम गिरी, दिलविकास राजभण्डारी, हरिबहादुर बस्नेत, सगुनसुन्दर लावतीलगायत नेताहरू केन्द्रीय समितिमा अनुपस्थित रहेको एक पदाधिकारीले सेतोपाटीलाई बताए।
यीमध्ये अध्यक्ष राजेन्द्र लिङ्देनले गिरी र लावतीलाई पदमुक्त गरेका थिए तर निर्वाचन आयोगमा अद्यावधिक गरेका थिएनन्। मंसिर ११ को केन्द्रीय कार्यसम्पादन समिति बैठकअघि पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनीको घरमा भएको बैठकमा नेता कार्यकर्तामाथि गरिएका कारबाही फिर्ता लिने सहमति बनेको संस्थापनइतर नेताहरूको दाबी छ।
उनकाअनुसार महामन्त्री धवलशम्शेर राणा बुधबारको केन्द्रीय समितिमा उपस्थित भए पनि त्यसपछि सहभागी भएनन्।
राप्रपामा ३ सय ७९ जना सदस्य छन्।
सहमहामन्त्री रिना गुरूङले केन्द्रीय समिति बैठक व्यवस्थापन फितलो देखिएको भन्दै आलोचना गरेकी थिइन्। ‘पदाधिकारी र जुम्ला जिल्लाका नेताकार्यकर्तालाई गरिएको कारबाही फिर्ता लिनुपर्छ,’ उनले भनेकी थिइन्।
बागमती प्रदेश प्रमुख विक्रम थापाले उपाध्यक्ष गिरी र प्रवक्ता लावतीलाई कारबाही गरेकोमा फिर्ता गर्न माग गरेका थिए।
उनले पार्टीभित्र एकताको वातावरण बनाउन माग गरेका थिए।
सहायक महामन्त्री प्रवीण थोकरले अध्यक्षले राजनीतिक कार्यपत्र र कार्यदिशा पेस नगरेको भन्दै आलोचना गरेका थिए।
‘महामन्त्री धवल शम्सेर राणाले संगठन विभागको नेतृत्व लिँदा संगठन विभाग प्रभावकारी थियो, अहिले निष्क्रिय छ। प्रवक्ता सगुन सुन्दर लावतीले विदेश विभाग चलाउँदा धेरै सक्रियता थियो, अध्यक्षले जिम्मा लिएपछि विदेश विभागको एउटै कार्यक्रम छैन,’ उनले भनेका थिए।
केन्द्रीय सदस्य गोपाल पौडेलले अध्यक्षले पार्टी मिलाउन र चलाउन नसकेको भन्दै आलोचना गरेका थिए।
‘मञ्चमा पदाधिकारीहरूको सिट खाली छ। किन यसो भयो? जबाफ दिनुहोस्। पार्टी चलाउन सक्नुहुन्न भने बरु छाड्नुस् म नयाँ धारको नेतृत्व गर्दै पार्टीलाई अगाडि बढाउँछु,’ उनले भनेका थिए।
लुम्बिनी प्रदेश प्रमुख प्रदीप उदयले प्रदेश सभा सांसदहरूका विषयमा कुरा उठाए।
‘भुवन पाठकले पार्टीको निर्देशनबिना किन बागमती प्रदेशको सभामुखबाट राजीनामा दिएको? पार्टीको निर्देशन थियो भने कोशी प्रदेशको सभामुख अमरबहादुर विष्टले किन राजीनामा नदिएको?,’ उनले सोधे।
उनले प्रदेशसभाबाट सामूहिक राजीनामा गर्ने पार्टीको निर्णय किन कार्यान्वयन नगरेको भन्दै अध्यक्षलाई प्रश्न गरेका थिए।
केन्द्रीय सदस्य सुरेश आचार्यले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था वामपन्थीको धार भएको बताएका थिए।
‘यो व्यवस्था राप्रपाले मानी आएको संवैधानिक राजसंस्थासहितको संसदीय प्रणाली विपरीत छ। प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री महाधिवेशनको निर्णय विरुद्धको विचलन हो, अध्यक्षले नै यो कुरा पार्टीमा ल्याएको हुनाले अध्यक्षले नै यसमा सुधार गर्न जरुरी भएको छ,’ उनले भनेका थिए।
केन्द्रीय सदस्य रन्जन कार्कीले रवीन्द्र मिश्र समूह र ४० वर्ष मुनिका केन्द्रीय सदस्यहरूको नामावली निर्वाचन आयोगमा दर्ता नगरिएकोमा प्रश्न उठाएका थिए।
‘माघ १३ गते केन्द्रीय समितिले ती नामावली निर्वाचन आयोगमा अद्यावधिक गर्ने निर्णय गरेको थियो, किन कार्यान्वयन भएन?,’ उनले भनेका थिए।
उपाध्यक्ष र प्रवक्तालाई भएको कारबाही विधान विपरीत भएको उनको भनाइ छ।
अध्यक्ष लिङ्देन पक्षका केन्द्रीय सदस्यहरूले भने अध्यक्षलाई सहयोग गरे पार्टी बलियो हुने बताएका थिए।
अध्यक्ष लिङ्देनले आगामी निर्वाचन राप्रपाको लागि उर्वर रहेको बताएका थिए।
‘मलाई साथ दिनुहोस्, मेरो योजनामा साथ दिनुहोस्, अक्षर अक्षरमा व्यवधान खडा गरेर मलाई कसैले नअल्झाइदेओस्, अकल्पनीय परिणाम निकाल्न सकिन्छ,’ अध्यक्ष लिङ्देनले भनेका थिए।