नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा नेताको वरिपरी लाग्नेलाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने परिपाटीको अन्त्य गर्ने आफ्नो चाहना रहेको बताएका छन्।
११ औं महाधिवेशनमा ईश्वर पोखरेलको पक्षमा रहेका उपाध्यक्ष पाण्डेले शुक्रबार आफ्नो पक्षका युवा भेलामा बोल्दै नेताको वरिपरी लाग्नेहरुलाई मात्रै नेतृत्वमा ल्याउने परिपाटीको अन्त्य गर्न आफूहरुले महाधिवेशनमा छुट्टै समूह बनाएर उम्मेदवारी दिएको बताएका हुन्।
'कार्यकर्ताको बीचमा स्थापित मान्छे होइन, नेताको वरिपरी लाग्ने मान्छे मात्रै नेतृत्वका लागि योग्य ठान्ने परिपार्टी हुर्क्यौं। हामी यसको विपक्षमा छौं। कार्यकर्ता आफैले हरेक फिल्ड नेता, कार्यकर्ता आफैले आफ्नो नेता आफै मूल्यांकन गरेर छान्ने पद्धति र सामूहिक ढंगले पार्टीलाई लिएर जाने पद्धति हामी स्थापित गरौं,' उनले भने।
उनले पार्टीलाई कसैले हल्लाउन नसक्ने गरी अघि बढाउन पनि महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुपर्ने बताए।
'यो परिपाटीलाई हामीले पार्टीको आधारभूत परिपाटीको रुपमा विकास गर्यौं भने यो पार्टीलाई कसैले छुन सक्दैन। कसैले हल्लाउन सक्दैन। यही लडाई यो महाधिवेशनको लडाइँ हो। यो लडाईमा हामी जित्न सकौं। जित्ने गरी अगाडि बढौं,’ उनले भने।
उपाध्यक्ष पाण्डेले अध्यक्ष ओलीले दुई कार्यकाल मात्रै अध्यक्ष रहने गरी आफूले बनाएको विधान फेरी संशोधन गरेको भन्दै आपत्ति समेत जनाए। –न्युज एजेन्सी नेपाल