विस्तारित मन्त्रिपरिषदमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका कुमार इङ्नाम पेसाले प्राध्यापक र अधिवक्ता हुन्।
उनले राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार शपथ लिएका छन्।
अन्तर्राष्ट्रिय व्यापार तथा मध्यस्थता र वित्तीय अपराधसम्बन्धी कानुनका विज्ञ इङ्नाम 'काठमाडौं स्कुल अफ ल' मा प्राध्यापक छन्। उनले कानुनसम्बन्धी थुप्रै किताब लेखेका छन्। काठमाडौं स्कुल अफ लमा आबद्ध हुनुअघि उनी इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा पढाउँथे।
पहिचानवादी बौद्धिक व्यक्तिको परिचय बनाएका इङ्नामले प्राध्यापन र वकालतलाई सँगसँगै अघि बढाएका छन्।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको वर्तमान मन्त्रिपरिषदमा कानुनी पृष्ठभूमिबाट आएका उनी तेस्रो मन्त्री हुन्। उनीबाहेक गृहमन्त्री ओमप्रकाश अर्याल र उद्योगमन्त्री अनिल सिन्हा कानुनी पृष्ठभूमिबाट आएका हुन्। अर्याल अधिवक्ता हुन् भने सिन्हा पूर्वन्यायाधीश हुन्।