नेकपा एमालेले पदाधिकारी संख्या नबढाउने भएको छ। शुक्रबार झन्डै ५ घन्टा चलेको सचिवालय बैठकले पदाधिकारी संख्या यथावत राख्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
उनका अनुसार एमाले सचिवालय संख्या यथावत रहनेछ।
‘विधानलाई हामीले चलाएनौं। पारित भएकै विधान यथावत् रहने भयो,’ उनले भने।
एक नेताले बताएअनुसार आजको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी संख्या बढाउने प्रस्ताव गरेका थिए। तर सचिवालय बैठकमा त्यसमा सहमति जुटेन। यथावत् रहने निर्णय भएको हो।
गत भदौ २० देखि २२ गते सम्म चलेको विधान महाधिवेशनले पदाधिकारीको संख्या १९ बाट घटाएर १५ मा सीमित गरेको थियो। अध्यक्ष ओली समूहमा पदाधिकारीको आकांक्षी बढेपछि पुनः बढाउने तयारी थियो।
तर बैठकमा सहमति नजुटेको इतर समूहका एक नेताले जानकारी दिए। त्यस्तै केन्द्रीय कमिटीको आकार पनि नबढ्ने भएको छ। विधानअनुसार एमाले केन्द्रीय कमिटी ३०१ सदस्यीय हुने भए पनि अहिले ३५५ सदस्यीय छ। गत विधान महाधिवेशनमा त्यसलाई घटाएर २५१ सदस्यीय बनाइएको छ।