नेकपा एमालेले ११औं महाधिवेशनका लागि १०८ जना प्रतिनिधि मनोनीत गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको सचिवालय बैठकले महाधिवेशनका लागि विधानमा व्यवस्था भएअनुसार ५ प्रतिशत मनोनीत गर्ने निर्णय गरेको एक नेताले बताए। उनका अनुसार मनोनीत गर्नेहरूको नाम टुंगिइसकेको छैन।
‘केही नाम प्रस्ताव भएको थियो। यी नामबारे शनिबार अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बसेर टुंगो लगाउने सहमति भएको छ,’ ती नेताले भने, ‘दुवै तर्फबाट सहमतिकै आधारमा नाम टुंगो लगाइने छ।’
विधानतः एमालेमा ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनीत गर्ने प्रावधान छ। महाधिवेशनका लागि २१५४ जना निर्वाचित भएर आएका छन्। १०८ मनोनीत भएपछि प्रतिनिधि संख्या २ हजार २ सय ६२ जना पुगेको छ।