नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले दर्ता गरेको दस्तावेजबारे महाधिवेशनको हलमा छलफल नहुने भएको छ।
पोखरेलले मंसिर २२ गते केन्द्रीय कार्यालय च्यासलमा छुट्टै दस्तावेज दर्ता गराएका थिए।
शुक्रबार बसेको सचिवालय बैठकले उक्त दस्तावेजबारे महाधिवेशनको हलमा छलफल नहुने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन्।
‘ईश्वर कमरेडले तयार गर्नुभएको दस्तावेजबारे छलफल हुँदैन। बाहिरै प्रतिनिधिहरूलाई वितरण गर्न पाउनुहुन्छ। त्यो व्यवस्था गरिन्छ। मिलाउने निर्णय भएको छ। तर त्यसबारे थप छलफल हुँदैन,’ उनले भने।
वरिष्ठ उपाध्यक्ष पोखरेलले सो दस्तावेजको विषयमा बोल्न चाहेको खण्डमा भने बोल्न दिने निर्णय भएको पनि ज्ञवालीले बताएका छन्।
‘उम्मेदवारी दिने क्रममा त्यो अवधारणामाथि आधारित रहेर केही बोल्न आवश्यक ठान्नुभयो भने उहाँले बोल्नुहुन्छ। तर यो दस्तावेजमाथि छुट्टै छलफल हुने वा पारित गर्ने भन्ने चाहिँ हुँदैन,’ सचिवालय बैठकको निर्णय सुनाउँदै उपमहासचिव ज्ञवालीले भने।
संस्थापन इतर पक्षले उक्त दस्तावेज महाधिवेशनमा छलफल गराउने तयारी गरेका थिए।
एमाले महाधिवेशनमा ईश्वर अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् भने अहिलेका अध्यक्ष केपी शर्मा ओली पनि अध्यक्ष पदमा प्रतिस्पर्धा गर्दैछन्।
दस्तावेज दर्ज गरेपछि वरिष्ठ उपाध्यक्ष पोखरेलले महाधिवेशनमा पार्टीका तर्फबाट प्रस्तुत हुने दस्तावेजमा आफूहरूले अघि सारेका विषयहरू पनि समेटियोस् भनेर बुझाइएको बताएका थिए।
उक्त दस्तावेजमा वरिष्ठ उपाध्यक्ष पोखरेलले नेतृत्वको दुई कार्यकाल र ७० वर्षे उमेर हदलगायत विषय पार्टीमा विधि बनिसके पनि तोडमोड गरिएको कुरा उल्लेख गरेका छन्।
यस्तो छ वरिष्ठ उपाध्यक्ष पोखरेलले दर्ता गरेको दस्ताबेज-