नेकपा एमालेको ११ औं महाधिवेशन आजदेखि सुरू हुँदैछ।
आज दिउँसो भक्तपुरको सल्लाघारी चौरमा महाधिवेशन उद्घाटन हुँदैछ।
महाधिवेशन उद्घाटन सत्रमा शुभकामना दिन एमालेले १६ दलहरूलाई निम्तो गरेको छ।
एमालेले नेपाली कांग्रेसलाई पनि निम्ता गरेको छ। नेताहरूले सभापति शेरबहादुर देउवालाई भेटेर निम्तो दिएका थिए।
तर सभापति देउवा एमाले महाधिवेशन उद्घाटन सत्रमा सहभागी नहुने भएका छन्।
सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई असोज २८ गते कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए।
सोहीअनुसार कार्यवाहक सभापति खड्का नै एमाले महाधिवेशन उद्घाटन सत्रमा शुभकामना सन्देश दिन जानेछन्।
‘कार्यवाहक सभापतिज्यू एमाले महाधिवेशन उद्घाटन सत्रमा जाने तय भएको छ,’ उनका स्वकीय सचिव गौतम बिसीले सेतोपाटीसँग भने।