नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भदौ २३ र २४ गतेको घटनाको जिम्मेवारका रूपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चित्रण गर्ने दुष्प्रयास गरिएको बताएका छन्।
नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनमा उद्घाटन मन्तव्य राख्दै पोखरेलले भदौ २३ र २४ गतेको घटनाको पछाडि एमाले र त्यसको नेतृत्वविरूद्ध संगठित र सुनियोजित प्रहार भइरहेको बताए।
‘भदौ २३ र २४ गतेको घटना पछाडि एमाले र त्यसको नेतृत्वविरूद्ध संगठित र सुनियोजित प्रहार भइरहेको थियो। कतिपयलाई लागेको थियो एमालेको भविष्य समाप्त भयो’, पोखरेलले भने, ‘षड्यन्त्रबाट हामी सरकारबाट बाहिरिएका छौं। तर जनताको मनमा गहिरो गरी बसेका थियौं। खरानीको थुप्रोबाट हामी फेरि उठ्नेछौं।’
उनले एमाले कमजोर नभएको दाबी गर्दे अझ शक्तिशाली भएर अगाडि बढेको बताए।
‘भदौ २३ र २४ गतेको घटनापछि पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध जनु प्रकारको प्रचारबाजी गरियो। जिम्मेवारका रुपमा ओलीलाई चित्रण गर्ने दुष्प्रयत्न गरियो’, पोखरेलले भने, ‘नेपालको इतिहासमा २३ र २४ गते जुनप्रकारका घटना भए। नवयुवाको भावनामा खेलेर राष्ट्रविरोधी, लोकतन्त्र, गणतन्त्र र नेपालका राजनीतिक दलका विरुद्धमा षड्यन्त्रपूर्ण गतिविधी भएका छन्।’
पोखरेलले मुलुकबाट प्रतिगमनलाई पराजित गरेर लोकतन्त्रको बाटोमा अघि बढ्ने बताए।
‘भदौ २३ को नवयुवाको भावनामा खेलेर अँध्यारो सुरूङतर्फ लैजाने एउटा षड्यन्त्र थियो’, पोखरेलले भने, ‘षड्यन्त्रको जगमा राष्ट्रलाई विध्वंसको दिशामा अघि बढाउने काम भएको छ। प्रतिगमनका पराजित गरेर अघि बढ्नेछौं।’