नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते हेलिकप्टरमा भागेको भन्नेलाई महाभारतको अंश सुनाएका छन्।
शनिबार भक्तपुरको सल्लाघारीस्थित मैदानमा जारी ११ औं महाधिवेशनमा ओलीले हेलिकप्टर चढेको सन्दर्भमा बोलेका हुन्।
‘नेताहरू, समाजका अगुवाहरू, मारिउन्, समाप्त हुन् भन्ने चाहना गर्ने जोकोहीले आज व्यंग्य गरेको सुनिन्छ- हेलिकप्टरमा चढेर भागे,’ उनले भने।
महाभारतमा पनि पाँच पाण्डवहरूलाई घरभित्र राखेर आगो लगाउँदा भाग्नुपरेको अवस्थाबारे बताएका हुन्।
‘महाभारतमा पाण्डवहरूलाई लाक्ष्य गृहमा थुनेर आगो लगाइयो। पाण्डवहरूले सुरूङ खनेर त्यहाँबाट बाहिर निस्केर बाँच्न पर्यो। यस्ता घटनाहरू हुँदा रहेछन्। अपराधीहरूका षड्यन्त्रलाई पराजित गर्नका लागि। इतिहासले दोष कसलाई दियो? आगो बाल्ने दुर्योधन, सकुनीहरूलाई दियो कि आगोबाट बच्न खोज्ने पाण्डवहरूलाई? प्रश्न त्यति न हो। त्यो महाविनाश हामीले बिर्सेका छैनौं। नबिर्सनेछौं। दोहोर्याएरै भन्छौं, नबिर्सौं। हामी नबिर्सौं त्यो घटनालाई त्यो महाविनाशलाई। त्यसदिनको छानबिन होस्, दोषी पहिचान होस् र अपराधिलाई सजाय होस्,’ उनले भने।
त्यस्तै उनले आन्दोलनमा आगो झोस्नेलाई नै आन्दोलनको नाम दिइएको पनि बताए।
‘जतिबेला राष्ट्रिय सम्पदा र निजी सम्पत्तिमाथि आगो झोस्ने कामलाई नै आन्दोलन विद्रोह क्रान्तिको रूपमा महिमा मण्डन गरिँदै थियो, ’ उनले भने, ‘त्यतिबेला एमालेमात्रै यस्तो पार्टी रह्यो जसले सुरू देखि नै व्यवस्थामाथिको आक्रमण हो र देशमाथिको प्रहार हो भन्यो। राज्यको सिंगो प्रणाली तहसनहस पार्न खोजिएको त्यस घडीमा हामी पनि सुरक्षित स्थानमा समिक्षारत रह्यौं।’