११ औं महाधिवेशनको उद्घाटन सत्र सकिएलगत्तै अध्यक्ष केपी शर्मा ओली पक्ष गुण्डु पुगेको छ। अध्यक्ष ओलीसहित नेताहरू छलफलमा जुटेका हुन्।
छलफलमा अध्यक्ष ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, उपमहासचिव प्रदीप ज्ञवालीलगायत नेताहरू छन्।
एमालेको बन्दसत्र आइतबार बिहान ७ः३० बजेबाट भृकुटीमण्डपमा सुरू हुँदैछ।
बन्दसत्रको पूर्वसन्ध्यामा ओलीपक्ष टिम मिलाउन छलफलमा जुटेका हुन्। बिहीबार बसेको सचिवालय बैठकले दोस्रो विधान महाधिवेशनले पारित गरेको विधान हेरफेर नगर्ने निर्णय गरेको थियो। यो महाधिवेशनमा एमालेको पदाधिकारी संख्या १५ मा सीमित भएको छ।
जस अनुसार अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३, सचिव ७ रहने व्यवस्था छ।
जसमा आकांक्षी समेट्न ओलीलाई हम्मेहम्मे परिरहेको छ।
ओली पक्षले उपाध्यक्ष विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरू बराललाई समेट्नुपर्ने चुनौती छ। उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, प्रदीप ज्ञवाली, विष्णु रिमालको पनि बढुवा हुने आकांक्षा छ।
महासचिव शंकर पोखरेल महासचिव नै दोहोरिने तयारीमा छन्। अध्यक्ष ओलीले उनैलाई दोहो¥याउन चाहे महासचिवका आकांक्षी पनि माथि व्यवस्थापन गर्नुपर्ने हुन्छ।
सचिवमा अध्यक्ष ओली समूहमा भानुभक्त ढकाल, शेरधन राई, जीवन घिमिरे, भगवती चौधरी, जगत विश्वकर्मा, राजन भट्टराई, महेश बस्नेत, पदम गिरी, गोरख बोगटी लगायत आकांक्षी छन्।
पदाधिकारी संख्या नबढ्ने हुँला पद्मा अर्याल, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्टलाई पनि समेटेर लैजानुपर्ने चुनौती छ। उनीहरू माथिल्लो पदमा बढुवा नभएर सचिवमै व्यवस्थापन गरेर जानुपर्ने हुन्छ।
मौजुदा कमिटीमा रहेका र नयाँ आकांक्षी समेट्न ओलीलाई कठिन परिरहेको नेताहरूले बताएका छन्।