भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित नेकपा एमालेको ११औं महाधिवेशन उद्घाटन स्थलको भन्दै एउटा 'फेक' फोटो भाइरल भइरहेको छ।
सल्लाघारी चउरमा शनिबार भेला भएका एमाले कार्यकर्ता र शुभेच्छुकहरूको उपस्थिति बाक्लै भए पनि त्योभन्दा धेरै बढी जनसहभागिता देखिने फेक फोटो एमाले नेताहरूले नै प्रचार गरिरहेका छन्।
एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले 'महाधिवेशनको उद्घाटन समारोह, भक्तपुर सल्लाघारीमा जनसागर उर्लिएको अनुशासित तथा भव्य विशाल सभा' भन्दै फेसबुकमा सेयर गरेका फोटोहरूमा त्यो फेक फोटो पनि परेको छ।
प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले पनि उक्त फेक फोटो सेयर गरेका थिए। उनले पछि त्यो फोटो हटाए।
सल्लाघारीमा शनिबार बिहानैदेखि एमाले कार्यकर्ताहरूको उपस्थिति बाक्लो थियो। मध्याह्न १२ बजेपछि विभिन्न ठाउँबाट जुलुस आउने क्रम सुरू भएसँगै चउरको आधाभन्दा बढी भाग ढाकिएको थियो।
दिउँसो २ बजेपछि सबैतिरबाट जुलुस आउने क्रम सकियो। त्यति बेला मञ्चतर्फको भाग खचाखच र पछाडिको भागमा पनि उल्लेख्य सहभागिता देखियो।
त्यही बेला केही सञ्चारकर्मीले ड्रोन फोटो र भिडिओ खिचे। त्यसमा वास्तविक सहभागिता छर्लंग देखिन्छ, जुन उद्घाटन स्थलको भन्दै प्रचार गरिएको फेक फोटोसँग मेल खाँदैन।
उक्त फेक फोटो एआईबाट निर्माण गरिएको देखिन्छ। त्यसमा सल्लाघारीको दृश्यसँग नमिल्दो र वास्तविकभन्दा निकै बढी मानिसको उपस्थिति छ।
जनसहभागिता धेरै देखाउन फेक फोटो सेयर गरिए पनि एमालेले विगतमा काठमाडौंमा आयोजना गरेका सभाको दाँजोमा शनिबारको सहभागिता बढी नै थियो।