नेपाली कांग्रेसको १५ औं महाधिवेशन हुन नसकेपछि विशेष महाधिवेशनको प्रक्रिया अघि बढाउन नेताहरूले तयारी सुरू गरेका छन्।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएर पुस २८ गतेभित्र विशेष महाधिवेशन आयोजनाको माग गरेका थिए।
तर विशेष महाधिवेशन आयोजना गर्न प्रक्रिया अघि बढेन। यसबीचमा डेढ महिना केन्द्रीय समितिमा छलफल गरेर पुस २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन गर्ने गरी मंसिर १५ गते कार्यतालिका आयो।
तर उक्त कार्यतालिकाअनुसार हिजो वडा र आज पालिका अधिवेशन हुन सकेन। कांग्रेसले नियमित महाधिवेशन कार्यतालिका प्रभावित भए पनि मातहत समितिमा पत्रसमेत पठाएको छैन।
सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का विशेष महाधिवेशनका पक्षमा देखिएका छैनन्। तर विशेष महाधिवेशन पक्षको दबाबपछि विधान कार्यान्वयन गर्न भन्दै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गर्न लागेका छन्।
त्यसका लागि पुस २७ र २८ गते भृकुटीमण्डपस्थित हल बुकिङसमेत भइसकेको छ। तर सभापति देउवा पक्ष भने आमचुनाव मुखमा आएका बेला विशेष महाधिवेशन गर्न नहुने पक्षमा छ।
विशेष महाधिवेशनका लागि हल बुकिङ भइसकेको अवस्थामा प्रवक्ता प्रकाशशरण महतसँग अब कांग्रेस कसरी अघि बढ्छ भनेर सेतोपाटीले गरेको कुराकानीको सम्पादित अंश-
विशेष महाधिवेशन आयोजना गर्न भृकुटीमण्डपमा हल बुकिङ भएको रहेछ, यसबारे पार्टीमा छलफल भएको छ?
अहिले केको विशेष महाधिवेशन? नियमित अधिवेशन गर्न छलफल भयो, कार्यतालिका पनि आयो। कार्यतालिका कार्यान्वयन गर्न मभन्दा जिम्मेवार साथीहरू हुनुहुन्थ्यो। महामन्त्रीजीहरू पनि हुनुहुन्थ्यो। अहिले नियमित महाधिवेशन नहुने भएपछि सबै नेताहरूले त्यसको जिम्मेवारी लिनुपर्यो नि! जिम्मेवारी पूरा गर्न नपर्ने, जिम्मेवारी पूरा गर्न नसकेको दोष चाहिँ अरूलाई लगाउने? जिल्लाले गरेनन्, साथीहरूले काम गरेनन् भनेर दोष लगाउन मिल्छ?
भनेपछि अहिले विशेष महाधिवेशन गर्न हुँदैन भन्ने तपाईंको भनाइ हो?
अहिले हामी आमनिर्वाचनको मुखमा छौं। प्रतिनिधि सभा समानुपातिकतर्फ उम्मेदवार सिफारिस भएर आएर उम्मेदवार सूची बनाएर निर्वाचन आयोगमा पेससमेत गरिसकेको अवस्था छ। साथीहरू जिल्ला जिल्लामा चुनावी अभियानमा लागिसक्नु भएको अवस्था छ। नियमित अधिवेशन समयमा गर्न सकिएको छैन भनेर कसका विरूद्ध त्यो विशेष महाधिवेशन गर्ने? त्यसैले अब नियमित अधिवेशन नै हुन्छ।
नियमित महाधिवेशन कहिले होला?
यो मिति (पुस २६ देखि २८ गतेसम्म) नियमित महाधिवेशन हुन सक्ने अवस्था बनेन। जतिसक्दो छिटो सम्भावना हुन्छ त्यो बेला नियमित महाधिवेशन हुन्छ। आम निर्वाचन (फागुन २१) लगत्तै नियमित महाधिवेशन गर्नुपर्ने हुन्छ। हल बुक गरे पनि जे गरे पनि विशेष महाधिवेशन आम साथीहरूको प्राथमिकता होइन र आउँदैनन् पनि।
विशेष महाधिवेशन पुस २७ र २८ मा भइहाल्यो भने चाहिँ के हुन्छ?
गरिहाले भने के हुन्छ भने उहाँहरूले पार्टीको हित र आमनिर्वाचनमा परिणाम ल्याउने गरी सोच्ने हो भने सिंगो पार्टी नै एक भएर जानुपर्छ। एक भएर जाने भनेको अहिले विशेष अधिवेशन गरे एक हुँदैन। नियमित अधिवेशनले नयाँ मानिसहरूलाई क्रियाशील सदस्यमा जोडेर नेतृत्व चयन गर्ने बेलामा कहाँबाट विशेष अधिवेशन हुन्छ? विशेष महाधिवेशनले पार्टीलाई हित गर्दैन। जसले विशेष महाधिवेशन भनिरहनुभएको छ- मलाई विश्वास छ, उहाँहरू यो बाटोमा जानु हुने छैन।
विधानको धारा १७ को २ अनुसार विशेष महाधिवेशन बाध्यकारी हो भन्ने तर्क छ, त्यसबारे के भन्नुहुन्छ?
यो सबै बहानाबाजी हो। नियमित अधिवेशन नै तय भइसकेपछि विधानको १७ (२) बाध्यकारी छैन।
हस्ताक्षर बुझाएको ३ महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्ने हुन्छ नि त
तीन महिनाभित्र अधिवेशन भन्ने त त्यसबीचमा नियमित महाधिवेशन गर्ने भनेर कार्यतालिका नै पारित भएर प्रक्रिया नै अघि बढिसक्यो त, क्रियाशील सदस्यतालगायत। जिल्ला जिल्लाबाट क्रियाशील सदस्यता आउँदैछ, बुझाउँदैछन्। यो अधिवेशनकै प्रक्रिया हो, यो नै अघि बढिसकेपछि विशेष महाधिवेशन केका लागि? के गर्नका लागि?
यो पनि:
महामन्त्री थापा र शर्माले आयोजना गर्नेछन् विशेष महाधिवेशन, अध्यक्षता गर्न देउवालाई पत्र दिने