सेतोपाटी चुनाव विश्लेषण – १०
केपी शर्मा ओलीको 'सेन्स अफ ह्युमर' लाजबाफ छ।
हाजिर–जबाफ, ठट्यौला र हरेक कुरालाई उखान–तुक्काको बुट्टा भरेर रसिलो र हँसिलो पाराले प्रस्तुत गर्ने क्षमता भएका उनी जत्तिको नेता सायदै अरू कोही होला!
यो विशेषता ओलीको व्यक्तिगत गुण मात्र होइन रहेछ, झापाको आबोहवा नै यस्तै रहेछ!
ओलीको निर्वाचन क्षेत्र झापा–५ का मतदाताहरूसँग कुरा गर्दा हामीले के महसुस गर्यौं भने, यहाँ अधिकांश व्यक्ति रसिलो र हँसिलो बोल्छन्। उनीहरूलाई सोधिएका गम्भीर प्रश्नमा पनि उनीहरू गम्भीर बन्दैनन्, बरू त्यही प्रश्नमा आफ्नो दैनन्दिन जीवनका सन्दर्भहरू उनेर हाँसो गर्न खप्पिस छन्। उनीहरू अप्ठ्यारो परिस्थितिलाई पनि सहज ढंगले लिन्छन् र त्यसैमा हँसीमजाक गर्दै खित्का छाड्छन्।
दमक नगरपालिकाका एक ६५ वर्षीय मतदाता यस्तै रसिला थिए।
उनीसँग चुनावको विषयमा कुरा सुरू गर्दै जसै हामीले 'कसलाई भोट दिन चाहनुहुन्छ बुबा' भनेर सोध्यौं, उनी मुसुक्क हाँसे र आफू बसिरहेको कुर्सीबाट जुरूक्क उठेर हाम्रो नजिक आए।
हाम्रो कानैनिर आफ्नो मुख जोडेर सानो स्वरमा भने, 'भोट त बालाई नै हो।'
यति भनेर उनी एकछिन थामिए।
अनि अगाडि भने, '... तर पछाडि 'लेन' जोडिएको बा'लाई!'
त्यसपछि उनी आफै खित्का छाडेर हाँसे।
हामीले पनि हाँसो थाम्न सकेनौं।
गौरादह नगरपालिका–८ का ७६ वर्षीय तिलबहादुर दाहाल त झन् एक कदम अगाडि थिए।
भारतीय सेनाका निवृत्त दाहाललाई त्यही प्रश्न सोध्दा उल्टै हामीसँग प्रतिप्रश्न गरे, 'आजको मितिमा म आफै चुनाव उठेँ भने कसैले भोट देला त?'
हामीले उनको प्रतिप्रश्न बुझेनौं।
हामीलाई वाल्ल परेको देखेर उनले भने, 'यो बुढेसकालमा चुनाव उठ्न गएँ भने म जस्तोलाई भोट दिएर केही फाइदा छ त यो देशलाई? ल भन्नु त!'
हामीले केही भनेनौं।
उनले नै थपे, 'जित्नुपर्ने त तपाईंजस्ता हट्टाकट्टा लक्का जवानले पो हो। अब हेर्नुस्, मेरो र ओलीको उमेर लगभग उही हो। म आफू काम गर्न नसक्ने अवस्थामा पुगिसकेँ भने उनको अवस्था पनि पक्कै त्यही हो। हिजो घरका सारा काम म सम्हाल्थेँ, छोराछोरीलाई पढाएँ, हुर्काएँ। आज म आराम गरेर बस्छु, घर छोराबुहारीले सम्हाल्छन्। देश पनि मेरो घरजस्तै त हो। काम गर्न नसक्ने उमेर भएका मजस्ता बुढापाकाले हट्टाकट्टा युवाहरूको ठाउँ ओगट्न भएन नि! आफै पन्छिएर सरक्क छाड्दिनुपर्यो, अनि ल आऊ देश सम्हाल भन्नुपर्यो!'

अहिलेसम्मका चुनावमा ओलीलाई नै भोट दिँदै आएको बताउने दाहालको आसय प्रस्ट थियो — उनी यसपालि आफ्नो मत बदल्दै छन्, आफ्नो उमेरका ओलीलाई होइन, छोरा–नातिको उमेरका बालेन शाहलाई रोज्दै छन्।
दमक नगरपालिका–६ का ६८ वर्षीय हरि मिश्रले पनि यसैगरी आफ्नो मनको कुरा खोले।
उनलाई हामीले घर अगाडिको बारीमा पानी हाल्दै गरेको भेटेका थियौं। हामीले आफ्नो परिचय दिँदै कुराकानीको निम्ति आग्रह गरेपछि उनले एकछिन समय मागे।
बारीमा फलिरहेको तरकारीमा पानी हाले, धारा बन्द गरे र रूमालले हात पुछ्दै कुराकानीको सिलसिला बढाउन तयार भए।
उनी केपी ओलीका पुराना मतदाता हुन्। जीवनमा एमालेको 'सूर्य' चिह्नबाहेक अरूलाई भोट दिएका छैनन्। यसपालि भने मत बदल्दै छन्। प्रत्यक्षमा ओलीलाई होइन, बालेनलाई भोट दिने मन बनाएका छन्।
प्रत्यक्षपछि हामीले समानुपातिक भोटको कुरा झिक्यौं। उनको समानुपातिक भोट कसलाई जान्छ भनेर सोध्यौं।
जबाफमा उनले भर्खर पानी हालेको बारीतिर इसारा गर्दै भने, 'खेतमा पानी लाउने हो भने पानी पूरै एकैतिर सोझ्याइदिनुपर्छ के बाबु! एउटा खेतमा तुरूक्क, अर्को खेतमा पनि तुरूक्क हाल्न हुन्न। त्यसले त कुनै पनि खेतलाई पानी पुग्दैन!'
'म सूर्यमा भोट दिँदा दुवै सूर्यमै दिन्थेँ, यसपालि घन्टीमा भोट दिँदैछु, त्यो पनि दुवै घन्टीमै दिन्छु,' उनले भने।

दमक नगरपालिका–७ मा भेटिएकी एक महिला र उनकी 'जेनजी' छोरी यस्तै हँसिला थिए।
आफूलाई 'भूपू जेनजी' बताउने ती महिलाले नाम चाहिँ खुलाइनन्।
भनिन्, 'म चुनाव उठेको हो र नाम लेख्नलाई। यहाँ सबैले कान्छी आन्टी भन्छन्, त्यही लेख्दिनुस्।'
उनले हामीसँगको कुराकानीमा भनिन्, 'बाबै (ओली) लाई नराम्रो भनेर हामी कसैले भनेका छैनौं। एकदमै राम्रो हो। दमकको निम्ति गर्नुसम्म गर्नुभयो। तर बाबै पुग्यो के अब! कति आफू मात्र गर्नुहुन्छ! नयाँ युवा आएका छन्, गर्छु भनेका छन्, चान्स दिएर हेरम् न! यिनले गरेनन् भने बाबै त आफ्नै हुन्, भोलि फेरि उनकैमा जाम्ला!'
'आज सारा जेनजी बालेन, बालेन भन्दै छन्,' कान्छी आन्टीले हाँस्दै भनिन्, 'म पनि भूपू जेनजी परेँ, त्यही त भन्नुपर्यो!'
कुराकानीपछि हामीले भूपू जेनजीको फोटो खिचौं कि भनेर सोध्यौं।
'फोटो त नखिचम् हौ,' उनले भनिन्, 'म त धेरै राम्री आउँछु के तपाईंको क्यामरामा!'
यी त केही उदाहरण मात्र हुन्। पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक आधारभूमि र उनले विगतमा पटक पटक चुनाव जित्दै आएको झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा हामीले यस्ता रसिला र हँसिला मतदाता पाइला पाइलामा भेट्यौं।
हामीले केही दिन झापा–५ मा पर्ने प्रत्येक स्थानीय तहका प्रत्येक वडामा पुगेर मतदातासँग कुरा गर्यौं। उनीहरूसँग कुरा गर्दा के देख्यौं भने, यहाँका मतदातामा ओलीप्रति खासै ठूलो गुनासो केही छैन। जेनजी आन्दोलन क्रममा गोली चलाउने आदेश दिएको र पार्टीमा नेतृत्व हस्तान्तरण नगरेको भन्दै केही मतदाताले रिस त पोखे, तर सँगसँगै विगतमा उनले झापा र समग्र देशको निम्ति गरेको योगदानको तारिफ पनि गरे।
हामीले यो निर्वाचन क्षेत्र घुम्दा ओलीलाई गाली गर्ने मतदाता विरलै भेट्यौं। उही उमेर समूहका केही मतदाताबाहेक उनको नाम काढेर बोलाउनेहरू पनि कमै भेट्यौं। धेरैले उनलाई नामको पछाडि 'बा' वा 'बाबै' लगाएर सम्मान देखाए। खासगरी दमक नगरपालिकाका सडक कालोपत्रे गर्नमा उनको भूमिकाप्रति मतदाताहरूले सन्तुष्टि व्यक्त गरे।
तर जहाँसम्म चुनावमा भोट दिने सवाल छ, यसमा भने झापा–५ का मतदाता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेनतिर ढल्किएको हामीले पायौं।
ओली र बालेनको प्रतिस्पर्धाका कारण आसन्न निर्वाचनको 'इपिसेन्टर' बनेको झापा–५ लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमै चासोका साथ हेरिएको छ। झापा बसाइमा हामीले अन्तर्राष्ट्रिय मिडियाका सञ्चारकर्मीहरू पनि थुप्रै भेट्यौं। जुन होटलमा हामी बसेका थियौं, त्यहीँ विभिन्न अन्तर्राष्ट्रिय सञ्चार मध्यामका पत्रकार पनि थिए।
उनीहरू सबैको चासो एउटै थियो — र्याप गायकबाट काठमाडौंको मेयरमा निर्वाचित भएर राष्ट्रिय राजनीतिमा पाइला चालेका ३५ वर्षीय बालेनले मुलुकको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका खेलेका शीर्षनेता तथा राजनीतिका पुराना 'खेलाडी' ७४ वर्षीय ओलीलाई टक्कर दिन सक्लान्?
सेतोपाटी टिमले यही प्रश्नको जबाफ खोज्न पछिल्ला दुई दिन यो निर्वाचन क्षेत्रका सबै वडा घुमेर करिब एक हजार मतदातासँग कुराकानी गरेको छ। चुनावमा उठेका दल र तिनका उम्मेदवारबारे मतदाताहरूको राय बुझेको छ। उनीहरूका मुख्य चासो के के हुन् र उनीहरू कसलाई किन मत दिन चाहन्छन् भनेर सोधेको छ।
झापा–५ निर्वाचन क्षेत्रमा दमक नगरपालिकाका १ देखि १० नम्बर वडा छन् भने गौरादह नगरपालिकाका १ देखि ८ नम्बर वडा, गौरीगञ्ज नगरपालिकाका ३ देखि ६ नम्बर वडा र कमल गाउँपालिकाका १ देखि ७ नम्बर वडा पर्छन्।


फागुन २१ को निर्वाचनमा यो क्षेत्रमा नेकपा एमालेका केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन शाह, नेपाली कांग्रेसकी मन्धरा चिमरिया, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रञ्जित तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का लक्ष्मीप्रसाद संग्रौला, जनता समाजवादी पार्टी (जसपा) का धिरेन सुब्बा, जनमत पार्टीका अमृतलाल महतो, श्रम संस्कृति पार्टीका समीर तामाङ लगायत उम्मेदवार प्रतिस्पर्धामा छन्।
मतदातासँगको कुराकानीका आधारमा विश्लेषण गर्दा यो निर्वाचन क्षेत्रमा बालेन ओलीभन्दा धेरै अगाडि छन्।
आजका दिनमा बालेनको ओलीसँग जति फराकिलो अन्तर हामीले पाएका छौं, त्यसलाई चिर्दै चुनावका दिनसम्म उनलाई पछि पार्न 'बाबै' लाई सजिलो छैन।
बालेन र ओलीबाहेक अन्य पार्टीका कोही पनि उम्मेदवार चुनावको प्रतिस्पर्धामै नरहेको हामीले पायौं। यहाँ कांग्रेसकी मन्धरा, राप्रपाका लक्ष्मीप्रसाद, श्रम संस्कृति पार्टीका समीर र नेकपाका रञ्जित प्रतिस्पर्धामा निकै पछाडि छन्।
एक लाख ६३ हजारभन्दा बढी मतदाता रहेको यो क्षेत्रमा हामीले कुराकानी गरेकामध्ये अहिलेसम्म कसलाई भोट हाल्छु भनेर टुंगोमा नपुगेका करिब १५ प्रतिशत छन्। दुई प्रमुख उमेदवारबीच कडा प्रतिस्पर्धा छ भने यी अनिर्णित मतदाताले अन्तिममा कता मत हाल्छन् भन्नेले माने राख्छ। तर बालेन र ओलीबीच जति फराकिलो अन्तर छ, त्यसमा यी मतदाताले अन्तिममा कता मत हाल्छन् भन्नेले चुनावको परिणाममा कुनै फरक पार्दैन।
यो निर्वाचन क्षेत्रमा बदलिएको राजनीति बुझ्न अघिल्लो पटकको निर्वाचनमा यहाँ कुन दलको कस्तो स्थिति थियो हेर्नुपर्छ।
२०७९ सालको निर्वाचनमा यहाँ प्रत्यक्षतर्फ ५२ हजार ३१९ मत ल्याएर ओली विजयी हुँदा उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत ल्याएका थिए। रास्वपाका सुरेश कुमार पोखरेलको भागमा ११ हजार ७५९ मत परेको थियो।
समानुपातिकतर्फ एमालेले सबभन्दा बढी ३५ हजार ८७२ भोट ल्याएको थियो भने दोस्रो स्थानमा रहेको रास्वपाले १८ हजार २०५ मत ल्याएको थियो। कांग्रेसको भागमा १६ हजार ८५९ समानुपातिक मत परेको थियो।
यसरी प्रत्यक्षतर्फको प्रतिस्पर्धामा तेस्रो स्थानमा रहनु र समानुपातिकतर्फ कांग्रेसलाई उछिनेर दोस्रो बढी भोट ल्याउनुले अघिल्लो चुनावबाटै रास्वपाले यहाँ आफ्नो बलियो उपस्थिति जनाएको देखिन्छ।
हाम्रो विश्लेषणमा यसपालि यो निर्वाचन क्षेत्रमा दलहरूबीचको शक्ति–सन्तुलन उलटफेर हुनेछ। प्रत्यक्ष र समानुपातिक दुवैतर्फ ठूलो अदली–बदली आउनेछ।
रास्वपा यसपालि कसरी यति बलियो देखिइरहेको छ त? विगतमा कुन, कुन दललाई मत दिएका मतदाता यसपालि रास्वपामा सर्दैछन्?
हामीले मतदातासँग गरेको कुराकानीका आधारमा विश्लेषण गर्दा, अघिल्लो पटक सबैजसो प्रमुख दललाई मत दिएका धेरै मतदाता यसपालि रास्वपातिर सर्ने देखिन्छ। त्यसमा पनि एमालेका मतदाताको ठूलो हिस्सा रास्वपातिर आकर्षित छ। त्यसपछि कांग्रेस र राप्रपाका मतदाता छन्।
हामीसँगको कुराकानीमा बालेनलाई भोट हाल्छु भन्ने मतदातामध्ये करिब ८० प्रतिशतले विगतमा एमाले वा कांग्रेसलाई भोट हालेको बताएका थिए। अघिल्लो चुनावमा घन्टीमा भोट हालेको बताउने मतदाता भने सबै रास्वपामै कायम छन्।
त्यस्तै, हामीले भेटेका र पहिलो पटक मत हाल्न लागेका सबैजसो मतदाताले रास्वपालाई नै मत हाल्ने बताए।
यसरी लगभग हिजो एमाले, कांग्रेस वा राप्रपालाई मत दिएका र नयाँ मतदाताको ठूलो हिस्सा रास्वपातिर जाने हुँदा यसको भरपुर लाभ रास्वपाले उठाउनेछ।
अर्कातिर, एमाले र कांग्रेसले आफ्ना पुराना मतदाता जोगाउन नसक्ने मात्र होइन, नयाँ वा अरू दलका मतदाता तान्न सक्ने सम्भावना पनि हामीले कमै देखेका छौं।
हामीसँग जति मतदाताले एमालेका ओलीलाई भोट हाल्छौं भने, तीमध्ये बहुसंख्यकले विगतमा पनि एमालेलाई नै भोट हालेको बताए। कांग्रेसकी मन्धरालाई भोट हाल्छौं भन्नेहरू त सबैजसो कांग्रेसका पुरानै मतदाता हुन्। ओली पछि कांग्रेसलाई मत दिन्छु भन्ने मतदाता नै हामीले धेरै भेट्यौं।
राप्रपा र हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उम्मेदवार समीरलाई भोट दिन्छु भन्ने केही मतदाता पनि हामीले भेट्यौं। समीरले पनि एमालेकै भोट तानिरहेका छन्। यसले समीरलाई त खासै फाइदा पुगेको छैन, तर एमालेलाई थप तल तानेको छ।
यसरी अरू दलहरूबीच मत साटफेर नहुनु, उनीहरूले आफ्नो पुरानो मत जोगाएर राख्न नसक्नु र सँगसँगै श्रम संस्कृति पार्टीले पनि भोट काट्नुले अरू सबै दलले पाउने मतको आकार घट्नेछ। यसको सबभन्दा ठूलो घाटा पूर्वविजेता ओलीलाई नै पर्नेछ।
हामीले यहाँ ओली र बालेनको विकल्पमा नेकपाका रञ्जितलाई भोट हाल्छु भन्ने केही मतदाता पनि भेट्यौं।
दमक नगरपालिका–८ का ५३ वर्षीय हिमराज चेम्जोङ एमालेका पुराना मतदाता हुन्। तर यसपालि उनी रञ्जितलाई भोट हाल्दै छन्।
'केपी ओलीलाई भोट हाल्न सकिएन। एउटै व्यक्तिलाई वर्षौं वर्ष कति बोकेर हिँड्नु,' उनले भने, 'बालेनप्रति पनि मलाई खासै विश्वास छैन। उनको सकारात्मक र नकारात्मक दुवै पाटो देखिएको छ। उनले काठमाडौंमा राम्रो गर्यो भनेर कसैले भन्छन्, कसैले सबै भताभुंग पार्यो भन्छन्। अरू महानगरको दाँजोमा बजेट खर्च गर्न नसकेको, गरिबहरूलाई काठमाडौंबाट लखेट्न खोजेको र जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न नगएको भन्ने कुरा पनि सुनिएको छ। यस्तो शंकै शंका पालेर के भोट दिनू!'


यी दुवैको तुलनामा रञ्जितलाई उनले रोजेका छन्।
भन्छन्, 'चाहे जितोस्, चाहे हारोस्, यी दुवैको तुलनामा उनी काबिल छन्।'
तर यसरी ओली र बालेन दुवैलाई मन नपराएर तेस्रो उम्मेदवार रोज्नेहरू कमै छन्। धेरै मतदाता बालेनको 'फ्यान' भएकाले लहर उनीतिरै सोझिएको देखिन्छ।
मतदाताहरूको कुराकानीबाट ओलीको तुलनामा बालेन प्रतिस्पर्धामा अगाडि आउनुमा मुख्य चार कारण रहेको हामीले देखेका छौं।
एउटा, हामीले कुरा गरेका धेरैजसो मतदाता अब ओलीले सक्रिय राजनीतिक जीवनबाट विश्राम लिनुपर्यो भन्ठान्छन्।
ओली मात्र होइन, विगतमा पटक पटक प्रधानमन्त्री भएर सत्ता चलाएका कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले पनि राजनीतिक जीवनबाट विश्राम लिनुपर्ने र युवा पुस्तालाई अगाडि ल्याउनुपर्ने यहाँका आम मतदाताको धारणा छ।
प्रत्येक चुनावमा ओलीलाई भोट दिँदा दिँदा थाकेकाले बालेनलाई अवसर दिएर हेर्ने राय उनीहरूले व्यक्त गरेका छन्।
एमालेका पुराना मतदाता मात्र होइन, कांग्रेसकै मतदाताहरूको पनि यस्तै धारणा छ। उनीहरूले पनि बालेनलाई 'परिवर्तनको आशा' का रूपमा लिएका छन्। विगतका राजनीतिक बेथिति, भ्रष्टाचार र अनियमितताहरूबाट यी युवा उम्मेदवारले देशलाई पार लगाउन सक्लान् कि भन्नेमा मतदाताहरूले आशा सँगालेको हामीले पायौं।
'देशको अवस्थामा केही परिवर्तन होला कि भन्ने आशाले नै हो भोट दिने भनेको,' विगतमा सधैं एमालेलाई र यसपालि रास्वपालाई मत दिने मन बनाएका गौरादह नगरपालिका–२ का ५५ वर्षीय युवराज खरेलले भने, 'पुराना नेताहरूले आफ्नो भागको काम गरे, अब नयाँको पालो। यसपालि नयाँलाई नै हेरौं भन्ने लागेको छ।'
दोस्रो, जेनजी आन्दोलनपछि युवा पुस्ताको भावना र मर्म अनुसार ओलीले पार्टी नेतृत्व युवा पुस्तालाई सुम्पिनुपर्नेमा उल्टै महाधिवेशनबाट अनुमोदित भएर आएकामा मतदाताहरूले निराशा व्यक्त गरेका छन्।
झापा–५ मा एमालेका समर्थकहरूको जग नहल्लिएको भए पनि पार्टीको 'सामन्ती' प्रवृत्तिले मत बदल्न बाध्य गराएको उनीहरू बताउँछन्।
एमालेले ओलीबाहेक अरू कुनै प्रभावशाली युवालाई उम्मेदवार बनाएको भए विगतमा सधैं ओलीलाई जिताएर पठाउने मतदाताले यसपालि पनि 'सूर्य' मै भोट हाल्ने ठोकुवा पनि केही मतदाताले गरे।
'एमालेले युवा उम्मेदवार उठाएको भए हामीले पार्टी बदल्नुपर्ने थिएन। हाम्रो भोट सूर्यमै जान सक्थ्यो,' दमक–६ की रेश्मा गर्तौलाले भनिन्, 'यसपालि त म नयाँलाई नै दिने हो।'
तेस्रो, बालेन बलियो देखिनुमा नेपाली कांग्रेसका पुराना मतदाता उनीतिर ढल्किनुले पनि ठूलो भूमिका खेलेको छ।
कांग्रेसका मतदाताले यसपालि झापा–५ मा बालेनको उम्मेदवारीलाई 'ओलीको किल्ला ढाल्ने' अवसरका रूपमा लिएका छन्।
आफ्नो राजनीतिक समर्थनका आधारमा 'रूख' लाई भोट दिँदा पनि कांग्रेसले जित्ने सम्भावना कमै भएको, बरू यसले बालेनको दाँजोमा ओलीलाई नै बलियो बनाउने भन्दै उनीहरू 'घन्टी' तिर आकर्षित देखिन्छन्।
कमल गाउँपालिका–७ की ५२ वर्षीया बिना राईले जिन्दगीमा 'रूख' बाहेक अन्यत्र भोट हालेकी छैनन्। यसपालि जीवनमा पहिलो पटक 'घन्टी' तिर मत बदल्न लागेको उनी बताउँछिन्।
'हामी पुर्ख्यौली कांग्रेस हौं। हामी कांग्रेस मतदाताहरूको जरा रूखसँग जोडिएको हुन्छ,' दमकमा सिलाइ पसल चलाइरहेकी बिनाले भनिन्, 'तर यहाँ कांग्रेसले जित्ने सम्भावना कमै छ। हामीले रूखलाई भोट हाल्यौं भने हाम्रो मान्छेले पनि जित्दैन, बालेनलाई पनि गाह्रो हुन्छ। त्यसले केपी ओलीलाई मात्र फाइदा हुन्छ। त्यसैले ओलीलाई हराउन पनि हामीले सल्लाह गरेर घन्टीमा भोट हाल्ने निधो गरेका छौं।'


चौथो, मतदाताहरूको कुराकानीबाट हामीले के देखेका छौं भने, जुन परिवारले पहिले सबै भोट एमालेमा खन्याउँथे, तिनले पनि यस पटक भोट बाँड्ने मनस्थिति बनाएका छन्। परिवारका सदस्यमध्ये आधाले सूर्य र आधाले घन्टीतिर भोट हाल्ने उनीहरूको तयारी छ।
गौरादह नगरपालिका घुम्दा हामी एउटा यस्तो घरमा पुगेका थियौं, जहाँ कुल ३६ भोट थिए। अघिल्लो निर्वाचनसम्म ती सबै भोट एमालेका ओलीलाई गएका थिए। यसपालि त्यस्तो हुने छैन। ती ३६ भोटमध्ये कम्तीमा १८ जनाले रास्वपामा भोट हाल्ने उनीहरूले बताएका छन्।
'नयाँ र पुरानो पुस्ताबीच कसलाई भोट हाल्ने भनेर मन मिलिरहेको छैन। दाइले सूर्यमा भोट हाल्दैछन्, बहिनीले घन्टीमा। बुबाले सूर्यमा भोट हाल्छन्, छोरीले घन्टीमा। आपसमै बाझ्नुभन्दा जसलाई जता मन लाग्छ उतै भोट हाल्ने हामीले निर्णय गरेका छौं,' त्यही परिवारका एक सदस्यले हामीसँग भने।
यसरी बाँडिने मतमध्ये पहिलो पटक भोट हाल्न लागेका युवा मतदाता ठूलो संख्यामा बालेनतिर आकर्षित हुनुले उनको सम्भावना बलियो बनाएको छ। ती युवा मतदाताले आफ्ना बुबा पुस्ता र अझ त्योभन्दा बढी हजुरबुबा पुस्तालाई आफूतिर तानेको हामीले पाएका छौं। चाहे पहिलेका एमाले मतदाता हुन् वा कांग्रेसका, परिवारका युवा सदस्यहरू रास्वपातिर सरेका छन्।
सबभन्दा रोचक कुरा त, हामीले परिवारका वयोवृद्ध सदस्यहरू पनि उल्लेख्य संख्यामा रास्वपातिर सरेको पायौं। उनीहरूलाई नेपालमै रहेका वा विदेशमा रहेका छोरा–नाति वा छोरी–नातिनाहरूले रास्वपामा भोट हाल्न सम्झाइरहेका छन्। नाति–नातिनाहरूको भनाइ उनीहरू टार्न सकिरहेका छैनन्।
झापा–५ घुम्ने क्रममा गौरादह नगरपालिकामा हाम्रो भेट एक महिला स्वास्थ्य स्वयंसेवकसँग भएको थियो। उनले आफ्नो मत कता जान्छ भनेर खुलाउन त मानिनन्, तर कामको सिलसिलामा गाउँ गाउँ घुम्दाको एउटा अनुभव हामीसँग बाँडिन्।
कम्तीमा हजार वटा घरमा घुमेर स्वास्थ्य परामर्श दिँदै आएकी ती महिला स्वयंसेवकले भनिन्, 'मलाई गाउँमा महिला मतदाताहरू एउटै प्रश्न सोध्छन्, मतपत्रमा घन्टी चिह्न कहाँनिर हुन्छ? उनीहरूले घन्टीमा भोट हाल्ने मन बनाएर बसेका छन्। भोट खेर नजाओस् र अन्तिम समयमा अलमल नहोस् भनेर घन्टी छाप कहाँनिर हुन्छ भन्ने पहिल्यै थाहा पाउन चाहेको मैले महसुस गरेको छु।'
'घन्टीप्रतिको आकर्षण के त?'
हाम्रो यो प्रश्नमा ती महिला स्वास्थ्य स्वयंसेवकले भनिन्, 'पुरानालाई छाडेर नयाँलाई हेर्ने।'
उनका अनुसार नयाँलाई हेर्ने मुड बनाएका यी मतदाताका लागि पार्टीको मुद्दा, राष्ट्रिय वा अन्तर्राष्ट्रिय नीति तथा विकासका कार्यक्रमले खासै अर्थ राखेका छैनन्। उनीहरूले केवल उम्मेदवारको अनुहार र उमेर हेरेका छन्।
र, यही कसीमा उनीहरूको छनौट 'बाबै' होइन, बालेनतिर सरेको उनी बताउँछिन्।
***
सेतोपाटी चुनाव विश्लेषण – १ ► चितवन–३ मा सोविता गौतमले जित्ने प्रबल सम्भावना
सेतोपाटी चुनाव विश्लेषण– २ ► काठमाडौं–३ मा मुख्य प्रतिस्पर्धा राजु पाण्डे र कुलमान घिसिङबीच
सेतोपाटी चुनाव विश्लेषण– ३ ► दाङ–२ मा रास्वपाका विपिन आचार्य अरूभन्दा धेरै अगाडि
सेतोपाटी चुनाव विश्लेषण– ४ ► रूपन्देही–२ मा अरू उम्मेदवारभन्दा रास्वपाका सुलभ खरेल धेरै अगाडि
सेतोपाटी चुनाव विश्लेषण – ५ ► काठमाडौं– ६ मा यसपालि पनि रास्वपाका शिशिर खनाल अगाडि
सेतोपाटी चुनाव विश्लेषण – ६ ► धनुषा–३ मा बालेन उम्मेदवार छैनन्, चर्चा भने उनकै छ
सेतोपाटी चुनाव विश्लेषण– ७ ► सिके राउतको निर्वाचन क्षेत्रमा राजनीतिक उलटफेर, रास्वपा धेरै अगाडि
सेतोपाटी चुनाव विश्लेषण– ८ ► भक्तपुर– २ मा अरू प्रतिस्पर्धीभन्दा रास्वपाका राजीव खत्री अगाडि
सेतोपाटी चुनाव विश्लेषण– ९ ► गजेन्द्र नारायण सिंहको सालिकमुनि धर्मराउँदै गरेको मधेसवादी राजनीति