प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहकै कारण संसदीय समितिहरूले प्रभावकारी काम गर्न नसकेको बताएको छ।
आज प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक बासना थापाले सरकार बहुमतको दम्भमा रहेको बताइन्।
‘सरकार बहुमतको दम्भमा संसदको गरिमा र प्रतिपक्षको भूमिका कमजोर बनाउने दिशातर्फ देखिएको छ, प्रतिपक्षको अवरोधबीच विधेयकहरू पास गर्दा किन बहुमतको दम्भ देखाउनुभयो, प्रधानमन्त्रीकै कारण संसदीय समितिहरू प्रभावकारी रूपमा काम गर्न सकिरहेको छैन,’ उनले भनिन्।
प्रधानमन्त्रीसँग प्रश्नोत्तउर कार्यक्रमलाई वेबास्ता गर्दै संसद चलाउनु संसदीय मर्यादाको अभ्यास नभएको पनि उनले बताइन्।
‘आज यी सबै घटनाले लोकतन्त्रको आत्मामाथि नै प्रश्न उठिरहेको छ, बहुमत सरकार चलाउने आधार हुन सक्छ तर लोकतन्त्र चलाउने आधार होइन। लोकतन्त्र संवादबाट बलियो हुन्छ,’ उनले भनिन्, ‘यदि बहुमत सर्वशक्तिमान ठान्ने हो भने संसद विचारको थलो नभइ औपचारिकता बन्न पुग्छ। अहंकारले कुनै पनि शासन प्रणालीलाई दीर्घकालीन स्थायित्व दिन सकेको छैन।’
प्रतिपक्षी र जनताका आवाजलाई सुनेर सरकार अघि बढ्नुपर्ने उनको भनाइ छ।
‘हामी अवरोधका लागि अवरोध गर्ने पक्षमा छैनौं, हामी जनमतको सम्मान गर्दै सरकारलाई रचनात्मक सहयोग गर्न तयार छौं,’ उनले भनिन्, ‘राष्ट्रिय हित, सुशासन, विपद् व्यवस्थापन, जनजीवनका सवालमा हामी हामी सहकार्यका पक्षमा छौं, तर सहकार्य एकतर्फी हुँदैन।’