राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दपक बोहोराले नेपाली बाहेकका भाषामा बोलिएका बिचारहरुलाई पनि दस्तावेजिकरण गर्न माग गरेका छन्।
प्रतिनिधि सभाको शून्य समयमा बोल्दै कन्चनपुर क्षेत्र नं २ बाट निर्वाचित सांसद बोहोराले संसदमा रेकर्डमा नरहने भएकै कारणले मातृ भाषामा नबोलेको बताए।
'मेरो मातृभाषा डोटेली भाषा हो। मलाई यसमै बोल्न मन थियो। तर मेरा साथी माननीय मनिष झाले मैथिली भाषामा बोल्नुभएको थियो। त्यो बेलामा थाहा पाए कि त्यो धारणा दस्ताबेजिकरण नहुने रहेछ,' बोहोराले भने,'अबदेखि नेपाली भाषा बाहेकका विषयमा बोलिएका धारणाहरु समेत दस्तावेजिकरण गरियोस भनेर माग राख्छु। यदि संसद सचिवालयसँग जनशक्ति छैन भने हामीले आफैले लेखेर दिन तयार छौं।'
उनले भारत गएका नेपालीको तथ्यांक राख्न समेत माग गरेका छन्।
भारतको कुन कुन ठाउँमा कति नेपाली छन भनेर दर्ता गर्नको लागि वेभसाइटको व्यवस्था गर्न समेत सरकारको ध्यानाकर्षण गराए।