काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिका लागि छानिएका तीन जनामध्ये पहिलो नम्बरमा परेका विवेक बरालमाथि आर्थिक बेरूजु लगायतका विभिन्न प्रश्न उठेपछि शिक्षा मन्त्रालयले विश्वविद्यालयसँग पत्राचार गरेको छ।
बरालमाथि उठेका प्रश्न निरूपण गर्न केयूसँग पत्राचार गरेर त्यससम्बन्धी कागजपत्र माग गरिएको मन्त्रालय स्रोतले जानकारी दियो।
स्रोतका अनुसार केयूको उपकुलपति नियुक्त गर्न विवेक बराल, राजेन्द्र जोशी र बालचन्द्र लुइँटेलको नाम प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सिफारिस भएर गइसकेको छ। यी तीन जनामध्ये बराल छनोट समितिबाट सबभन्दा बढी नम्बर पाएर पहिलो प्राथमिकतामा सिफारिस भएका छन्।
उनका बारेमा उठेका प्रश्नमाथि मन्त्रालयले छुट्टै टिम बनाएर छानबिन गरिरहेको छ। त्यसै सिलसिलामा काठमाडौं विश्वविद्यालयसँग पत्राचार गरी कागजपत्र माग गरिएको हो।
'केयूबाट आवश्यक कागजपत्र आएपछि त्यो हेरेर मात्र अन्तिम निर्णय हुनेछ,' स्रोतले भन्यो।
हामीले यसबारे बुधबार शिक्षामन्त्री सस्मित पोखरेलसँग कुरा गर्दा उनले पनि बरालबारे उठेका प्रश्न आफ्नो जानकारीमा आएको र त्यसबारे आन्तरिक छानबिन सुरू गरिएको बताएका थिए।
'उहाँका बारेमा उठेका प्रश्न अहिले हाम्रो नोटिसमा छन्,' उनले भनेका थिए, 'हामीले नियुक्ति प्रक्रिया केही समय 'होल्ड' गरेर उहाँको पृष्ठभूमिमाथि विस्तृत छानबिन सुरू गरेका छौं। आर्थिक, नैतिक, कानुनी लगायत सबै प्रश्नमा विस्तृत छानबिन हुनेछ।'
छानबिन क्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोग र काठमाडौं विश्वविद्यालयसँग थप प्रमाण माग्ने उनले बताएका थिए।
उनका अनुसार मन्त्रालयले बरालका बारेमा आफ्नो इमेलमा उजुरी पठाउन पनि आह्वान गरेको छ।
'हामीलाई प्राप्त हुने उजुरीका आधारमा अख्तियार र केयूसँग थप प्रमाण मागेर विस्तृत छानबिन गर्ने छौं। यी कुरा जेनुइन (वास्तविक) पुष्टि भए उहाँ यो प्रक्रियाबाट बाहिरिनुहुनेछ। यसका लागि छानबिन र तथ्य प्रमाणित गर्ने काममा हाम्रो छुट्टै टिम खटिएको छ। तर उहाँमाथि 'अनफेयर' हुन पनि हामी दिँदैनौं,' मन्त्री पोखरेलले भने।
अन्तिम तीन जनाको नाम प्रधानमन्त्री कार्यालयमा पेस भइसकेकाले त्यहाँबाट पनि उजुरी भेरिफाई भइरहेको उनले बताएका छन्।
यसबारे विस्तृतमा पढ्नुहोस्: