सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले सार्वजनिक लेखा समितिमा नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्कीको जबाफमा प्रतिउत्तर दिएका छन्।
गएराति सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर सांसद सुनारले बर्दी र फुली देखाएर धम्क्याउँदैमा सकिने विषय नरहेको बताएका हुन्।
'बिरालोको घाँटीमा घण्टी बाँध्ने जोखिम कसैले न कसैले लिनै पर्छ। त्यसका लागि जस्तो सुकै मूल्य चुकाउन किन नपरोस्,' उनले लेखेका छन्, 'हिजोको मुद्दा बर्दी र फुली देखाएर धम्काउँदैमा सकिने विषय हैन।'
उनले प्रहरी र दुःखमा साथ दिने म्यादी प्रहरीको पक्षमा आफू सदैव रहेको पनि बताएका छन्।
'तर गरिबका छोरा-छोरी, म्यादी, सिपाही, हवल्दार भएका छन्। ती गरिबका जुत्ता, मोजा, कट्टु, रासन खाएको अरबौंको गम्भीर र ठूलो मुद्दा परेको छ,' उनले भनेका छन्, 'मुद्दा लागेको व्यक्तिले बयान दिने हो। प्रवचन दिने हैन। जुत्ता लगाउने हो। खाने हैन।'
सांसद सुनारले १ हजार अर्बभन्दा धेरै राज्यमा बेरूजु रहेको र भ्रष्टाचार, घोटाला, अनियमितता, काण्डहरूको असंख्य सूची रहेको बताएका छन्।
'हामीले मुख मिठ्याउँदा जनताको मुख तितो हुन्छ। हामीले तितो बोल्दा भोका नांगा पिँधका जनताको मुख मिठो हुने दिन आउँछ भने, धेरै तितो बोल्न बाँकी छ,' उनले भनेका छन्।
बुधबार संसदको सार्वजनिक लेखा समितिमा सांसद सुनार र आइजिपी कार्कीबीच सबाल जबाफ भएको थियो।
त्यस क्रममा सांसद सुनारले निर्वाचन प्रहरीको पोसाक खरिदमा भ्रष्टाचारको आरोप लगाउँदै आइजिपी कार्कीमाथि 'अमर्यादित टिप्पणी' गरेका थिए।
पोसाक खरिदमा भ्रष्टाचार भएको र त्यसमा आइजिपी कार्कीमाथि नै छानबिन गर्नुपर्ने सांसद सुनारले बताएका थिए।
जबाफमा आइजिपी कार्कीले निष्ठापूर्वक काम गरिरहेको मान्छेलाई समितिमा ल्याएर चरित्रहत्या गर्ने र जे मन लाग्यो त्यही भनिएको बताएका थिए।
'आजसम्म निष्ठापूर्वक काम गरेको मान्छेलाई कुनै पनि संस्था वा व्यक्तिको सामान्य मर्यादा त हुनुपर्छ! हामीविरूद्ध परेका निवेदनहरू निष्पक्ष रूपमा छानबिन गरिनुपर्छ,' उनले भनेका थिए।
उनले सम्पूर्ण वस्तुगत तथ्य र व्यावहारिक परिस्थितिहरूलाई ध्यानमा राख्न पनि अनुरोध गरेका थिए।
'परिआए 'नेमिङ, सेमिङ, ब्लेमिङ र गेमिङ' गर्न हामीलाई पनि आउँछ,' जबाफमा आइजिपी कार्कीले भनेका थिए।