कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार विश्वासको मत लिने भएका छन् ।
प्रदेश प्रदेशसभा सचिवालयका शाखा अधिकृत तथा सूचना अधिकारी राजेन्द्र पौडेलका अनुसार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा शाहीले विश्वासको मत लिने तय भएको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता शाही साउन १२ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
केन्द्रमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' बीच साउन ९ गते भएको तीन बुँदे सहमति अनुसार कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपाले लिने तय भएको थियो।
सोही सहमति अनुसार दुबै प्रदेशमा नेकपाले सरकारको नेतृत्व पाएको छ ।
साउन १२ गते शाही मुख्यमन्त्री नियुक्त भए पनि उनको सरकारमा हालसम्म एक जना पनि मन्त्री छैनन्।
मन्त्रालय भागबन्डामा दलहरूबीच कुरा नमिलेपछि आजका दिनसम्म कर्णाली सरकार मुख्यमन्त्रीको भरमा मात्रै चलेको छ। तीन साता बितिसक्दा उनले एक जना पनि मन्त्री नियुक्त गर्न सकेका छैनन्।
मुख्यमन्त्री नियुक्त भएको २२ दिनपछि विश्वासको मत लिने समयसम्म सरकारमा एक जना पनि मन्त्री नहुनु प्रदेशको राजनीतिमा दुर्लभ घटना मानिएको छ।
लामो समयसम्म मन्त्री नियुक्त नहुँदा प्रदेश सरकारको प्रशासनिक कामकारबाही प्रभावित भएका छन्।
प्राकृतिक विपदको जोखिमपूर्ण समयमा कर्णाली सरकार मन्त्रीविहीन!
प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले बुधबार दिउँसो मुख्यमन्त्री शाही कुनैपनि मन्त्री बिना एक्लै उपस्थित भइ विश्वासको मत लिन थालेको बताए ।
'मंगलबार बेलुकीसम्म मन्त्रिपरिषदमा एक जना पनि मन्त्री नियुक्त भएको भन्ने सूचना छैन,' प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले भने, 'बुधबार दिउँसो सम्म केही भइ हाले छ भने मात्रै हो अन्यथा मुख्यमन्त्री क्याबिनेटमा एकजना पनि मन्त्री नभइ एक्लै विश्वासको मतका लागि उभिने स्थिति छ।’
कर्णाली प्रदेश सभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो।
प्रदेशसभा सचिव डा. अर्जुनकुमार खड्काका अनुसार कांग्रेसका १५ जना प्रदेशसभा सदस्य छन । कांग्रेसलाई समर्थन गर्दै आएका एक स्वतन्त्र सांसदलाई जोड्दा यो संख्या १६ पुग्छ । त्यसपछि नेकपाका १४, एमालेका सभामुखसहित १० र राप्रपाका एक प्रदेशसभा सदस्य छन ।
४० सदस्यीय कर्णाली प्रदेशसभामा सरकार गठनका लागि २१ सदस्यको समर्थन आवश्यक पर्छ । नेकपाका १४ र एमालेका १० सांसद गरी २४ सदस्य भएकाले नयाँ गठबन्धनसँग सरकार गठनका लागि आवश्यक बहुमत छ ।
विश्वासको मत लिइ सकेपछि शाहीले सरकार विस्तार गर्ने तथा पूर्णता दिने स्रोतले जनाएको छ।