राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बाँस्कोटाले अस्पतालको आइसियुमा अन्तर्वार्ता लिएको घटनाबारे प्रतिनिधि सभाको आजको बैठकमा प्रश्न उठाएकी छिन्।
केही दिनअघि चर्चित सञ्चारकर्मी सुरजसिंह ठकुरीले 'इन्साइड द बंकर' भन्ने युट्युब च्यानलमा सुरूङबाट १० दिनपछि जिवितै उद्धार गरिएका दुई जनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको आइसियुमा पुगेर अन्तर्वार्ता लिएका थिए ।
'अस्पतालको आइसियु जटिल बिरामीको उपचारका लागि छुट्टयाएको कक्ष हो', बाँस्कोटाले भनिन्, 'नाबालक नै किन नहोस् निश्चित समयमा मात्र भेट गर्न दिइन्छ। अस्पतालमा आइसियुमा अन्तर्वार्ता लिनु वा लिन स्वीकृति दिनु कति नैतिक अभ्यास हो।'
सांसद बाँस्कोटाले आइसियुमा अन्तर्वार्ता रेकर्ड गर्दा 'दुई बिरामी मात्र थिए कि अरू बिरामी पनि थिए?' भन्दै प्रश्न गरेकी हुन्। यदि अन्तर्वार्ता लिदाँ अरू पनि बिरामी त्यहाँ भएको भए त्यसले 'जीवनलाई नै रिस्कमा' राखेको उनले बताइन्।
'क्यामेरा, क्यामेरामेनदेखि विभिन्न व्यक्ति अन्तर्वार्तामा उपस्थित हुन्छन्। क्रिटिकल केयर युनिटमा कति संवदेनशिल भएर एक घण्टाको अन्तर्वार्ता दियौँ। सम्बन्धित निकाय र चिकित्सकहरू कति गम्भीर बने बनेनन् यो पनि ठूलो विषय हो', बाँस्कोटाले भनिन्, 'मानिसको जीवनभन्दा ठूलो कुनै कन्टेन्ट, कुनै इन्टरभ्यू, भ्यजु हुँदैन। मानव जीवनलाई टिआरपीमा तौलिने काम बन्द हुनैपर्छ।'
उनले सरकारसँग छिट्टै मेडिकल लापरबाहीसम्बन्धी विधेयक ल्याउन समेत आग्रह गरिन्।
यस विषयमा प्रेस काउन्सिलले ध्यानाकर्षण भएको भन्दै अस्पताल, मेडिकल काउन्सिल र सञ्चारकर्मी ठकुरीलाई पत्राचार गरेको छ।