नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले सरकारलाई कति वटा सुरूङमा खोज तथा उद्धार सकियो भनेर प्रश्न गरेका छन्।
प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समय लिएर बोल्दै सांसद मल्लले भोटेकोशी बाढीपछि जारी खोज तथा उद्धारबारे जिज्ञासा राखेका हुन्।
'रसुवा बाढीपछि पीडित परिवारका केही अत्यन्त संवेदनशील प्रश्नमार्फत् सरकारको गम्भीर ध्यानाकर्षण गरादउँछु', मल्लले भने, 'जलविद्युत् आयोजनाका सुरूङमध्ये कतिवटा सुरूङमा खोज तथा उद्धार सम्पन्न भयो, कति वटामा जारी छ? २१६ जना हराइरहेको माथिल्लो त्रिशूलीमा के भइरहेको छ? '
उनले धेरै परिवार बेपत्ता आफन्तको अन्तिम संस्कार गर्न डिएनए रिपोर्टको पर्खाइमा रहेको बताए।
'परीक्षण कहिलेसम्म सकिन्छ र परिवारले पहिचानको आधिकारिक जानकारी कहिलेसम्म पाउँछन्', मल्लले सोधे, 'प्रहरी संगठनले मृतक तथा बेपत्ता सुरक्षाकर्मीको लागि राहत घोषणा गरेजस्तै मृतक तथा बेपत्ता नागरिकको लागि सरकारले राहत तथा पुनर्स्थापनाको प्याकेज कहिलेसम्म घोषणा गर्छ?'
उनले होल्डिङ सेन्टरमा रहेका बालबालिकाको नियमित पठनपाठन कहिलेदेखि सुरू हुन्छ भनेर पनि जिज्ञासा राखेका छन्।
'बालबालिका केन्द्रित मनोपरामर्श र किशोरी सुरक्षाको कार्यक्रम तत्काल सुरू गरियोस्। साथै प्रभावित क्षेत्रका एसइई दिने विद्यार्थीका लागि विशेष प्याकेज सहितको कक्षा सञ्चालन गरियोस्', मल्लले भने, 'संघीय सरकारको तर्फबाट अभिभावकविहीन बालबालिकाको संरक्षण र शिक्षाको जिम्मेवारी लिने एकरूप नीति घोषणा गरि तत्काल कार्यान्वयन गरियोस्।'
उनले क्षतिग्रस्त सडक र पुल निर्माण कहिलेसम्म सम्पन्न हुन्छ भनेर पनि जिज्ञासा राखेका छन्।
साथै क्षतिग्रस्त विद्यालय र स्वास्थ्य संस्थाको पुनर्निर्माण तथा घरबारबिहीन परिवारको आवास तथा दीर्घकालीन पुनर्स्थापनाको योजनाबारे पनि प्रश्न गरेका छन्।