श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले रसुवाको भोटेकोशीमा आएको बाढीपछिको खोज तथा उद्धारमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्।
उनले रसुवा लगायत बाढी प्रभावित जिल्लाहरूमा सरकारले खोज, उद्धार र राहतको कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन नसकेको आरोप पनि लगाए।
उनले रसुवाको हाकुबेसीस्थित सुरूङमा फसेका नागरिकको उद्धारमा पर्याप्त मात्रमा सुरक्षाकर्मी तथा विज्ञ परिचालन नगरिएको पनि बताए।
प्रमुख सचेतक राईले चिलिमे हाइड्रोपावर क्षेत्रमा पनि ६ देखि ८ जना बेपत्ता भएको जानकारीमा आएको बताए।
उनले सरकारको कमजोरीका कारण उद्धार गर्न सकिने नागरिकको समेत अकालमा ज्यान गएको आरोप पनि लगाए।
उनले भने, ‘हाकुबेसी सुरूङमा हाम्रो अध्यक्षज्यू सहितको टिमले काम गरिरहेको छ। त्यहाँ ३ सय जना करिब बेपत्ता हुनुभएको छ। अहिले जम्मा २० जना उद्धारकर्मी मात्र खटाइएको छ। यो सरकारलाई म प्रश्न गर्न चाहन्छु, त्यसैगरी हिजोअस्तिको चिलिमे हाइड्रो पावरमा पनि लगभग ६ देखि ८ जना त्यहाँभित्र बेपत्ता छ भनिएको छ। सरकारको कमजोरीका कारणले गर्दाखेरी धेरै बाँच्न सक्ने, बचाउन सक्ने आम नागरिकहरूको अकालमा ज्यान गएको छ।’
उनले खोज, उद्धार र राहतको विषयलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए। –न्युज एजेन्सी नेपाल