प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर राख्न र बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनर्निर्माणका लागि संसदीय उच्चस्तरीय समिति गठन गर्ने विषयमा ध्यानाकर्षण गराएको छ।
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डिपी) अर्यालसँग मंगलबार भएको भेटमा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेले ती विषयमा ध्यानाकर्षण गराएका हुन्।
नेता आङदेम्बेका अनुसार विगतमा तय भएर हुन नसकेको प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीमा राख्न सरकारसँग समन्वय गर्न सभामुख अर्याललाई आफूले ध्यानाकर्षण गराएको बताए।
यही भदौ १० गते संसदमा प्रधानमन्त्री बालेन शाहसँग प्रश्नोत्तर राखिएकामा उक्त दिन भोटेकोशी बाढीका कारण प्रश्नोत्तर कार्यक्रम प्रभावित भएको थियो।
नेता आङदेम्बले प्रश्नोत्तर कार्यक्रम प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभाका लागि अमेरिका जानु अगावै राख्न आग्रह गरेको र त्यसमा सभामुख अर्याल सकारात्मक रहेको जानकारी दिए।
आङदेम्बले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट आएको प्रस्ताव बमोजिम बाढीपछिको अवस्थालाई समग्र अगुवाइ गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउन आफूहरूले गरेको सहमति पनि पालना हुनुपर्नेमा जोड दिए।
'विपत्तिका समयमा राज्य र सबै दल एक ठाउँमा छन् भन्ने सन्देश हामीले दिनुपर्छ। त्यसका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र र संसदीय सयन्त्र गठन गरेर उद्धार, राहत, पुनर्निर्माणका काममा सहजीकरण गर्नुपर्छ,' नेता नेम्वाङले भने, 'हामीले विपक्षीका तर्फबाट सदन र सरकारको ध्यानाकर्षण गराउने काम गरिरहने छौं। सरकारले सुनुवाइ गर्नुपर्छ भन्ने हाम्रो आग्रह हो।'