अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ५३ प्रतिशत दर्ता मतदाताले ‘भ्रष्ट’ र ५१ प्रतिशतले ‘खतरनाक’ भनेर वर्णन गरेका छन्।
द इकोनोमिस्ट–युगोभले सेप्टेम्बर ११ देखि १४ सम्म १ हजार ४ सय ६१ जना अमेरिकी दर्ता मतदातामाझ गरेको सर्वेक्षणमा ट्रम्पलाई वर्णन गर्न ५३ प्रतिशतले ‘भ्रष्ट’ र ५१ प्रतिशतले ‘खतरनाक’ शब्द रोजेका हुन्।
सर्वेक्षणमा ट्रम्पलाई वर्णन गर्न दिइएका विभिन्न शब्दमध्ये आफूलाई लाग्ने शब्द चयन गर्न दिइएको थियो। एउटै व्यक्तिले धेरै शब्द पनि छान्न पाउने गरी सर्वेक्षण गरिएको थियो।
त्यस्तै, ४७ प्रतिशतले ‘वास्तविकताबाट टाढा’, ४६ प्रतिशतले ‘क्रूर’ र ४५ प्रतिशतले ‘साहसी’ शब्द प्रयोग गरेका छन्।
केवल १८ प्रतिशतले उनलाई ‘स्थिर’ भनेर वर्णन गरेका छन्।
‘विभाजनकारी’ शब्दका हकमा ४२ प्रतिशतले ट्रम्पलाई त्यस्तो व्यक्तिका रूपमा वर्णन गरेका छन् भने १४ प्रतिशतले उनी विभाजनकारी नभएको बताएका छन्।
बाँकीले यसबारे धारणा नदिएको सर्वेक्षणले देखाएको छ।
ट्रम्पबारे धारणा दलअनुसार भने निकै फरक छ।
९१ प्रतिशत डेमोक्र्याट र ६२ प्रतिशत स्वतन्त्र मतदाताले उनलाई ‘भ्रष्ट’ भनेका छन्। रिपब्लिकनमध्ये भने १० प्रतिशतले मात्रै उनलाई भ्रष्ट भनेर वर्णन गरेका छन्।
रिपब्लिकन मतदातामा पनि ट्रम्पप्रतिको धारणा पूर्ण रूपमा सकारात्मक देखिँदैन।
४९ प्रतिशत रिपब्लिकनले ‘इमानदार’ शब्द ट्रम्पलाई वर्णन गर्न मिल्ने बताएका छन्। १० प्रतिशतले इमानदार शब्द उनलाई नमिल्ने बताएका छन् भने ४१ प्रतिशतले कुनै धारणा दिएका छैनन्।
त्यस्तै, ३८ प्रतिशत रिपब्लिकनले ट्रम्पलाई ‘स्थिर’ भनेका छन् भने ५३ प्रतिशतले यसबारे आफ्नो धारणा नभएको बताएका छन्।
सर्वेक्षणको परिणाम ट्रम्पका लागि पछिल्लो समय सार्वजनिक भएका अन्य जनमत सर्वेक्षणसँग पनि जोडिन्छ।
ट्रम्पको इरान युद्ध, भन्सार नीति र अन्य प्रमुख प्राथमिकताप्रति अमेरिकी जनमतमा चुनौती देखिएको उल्लेख गरिएको छ।
मध्यावधि निर्वाचन नजिकिँदै गर्दा ट्रम्पले भने आफूलाई चुनावी अभियानको केन्द्रमा राखेका छन्। यससँगै आगामी निर्वाचनलाई उनले आफ्नो राष्ट्रपतीय कार्यसम्पादनमाथिको जनमतसंग्रहजस्तै बनाइरहेका छन्।
यसैबीच, रोयटर्स/इप्सोसको पछिल्लो सर्वेक्षणमा ट्रम्पको कार्यसम्पादन अनुमोदन गर्ने अमेरिकीको संख्या केही बढेको देखिएको छ।
अगस्टको अन्त्यमा ३३ प्रतिशत रहेको अनुमोदन दर सेप्टेम्बरमा ३५ प्रतिशत पुगेको रोयटर्सले जनाएको छ।
मध्यावधि निर्वाचनमा ट्रम्पलाई केन्द्रमा राख्ने रणनीतिबारे रिपब्लिकन पार्टीभित्रै पनि चासो देखिएको छ।
पार्टीको मध्यावधि सम्मेलनका दुवै दिन ट्रम्प मुख्य वक्ता बनेका थिए। उनले रिपब्लिकनले कंग्रेसमाथिको नियन्त्रण कायम राखे हरेक वयस्क अमेरिकी नागरिकलाई ५ हजार डलर ‘डिभिडेन्ड’ दिने प्रस्तावसमेत अघि सारेका थिए। उक्त योजनामा १ ट्रिलियन डलरभन्दा बढी खर्च हुने अनुमान गरिएको छ।
तर युगोभको सर्वेक्षणमा अधिकांश मतदाताले ट्रम्पले उक्त रकम वास्तवमै दिने सम्भावना कम रहेको बताएका छन्।
४१ प्रतिशतले उनले निश्चित रूपमा यस्तो रकम नदिने र थप १६ प्रतिशतले सम्भवतः नदिने बताएका छन्।
योजनालाई ४५ प्रतिशतले खराब विचार भनेका छन् भने ३८ प्रतिशतले राम्रो विचार मानेका छन्।
सभामुख माइक जोन्सनले भने यस्तो योजना कार्यान्वयन गर्न कंग्रेसको स्वीकृति आवश्यक पर्ने बताएका छन्।
ह्वाइट हाउसका प्रवक्ता डेभिस इन्गलले भने ट्रम्पले संघीय सरकारमा हुने ठगीविरुद्ध व्यापक अभियान चलाइरहेको बताएका छन्।
उनका अनुसार ट्रम्प प्रशासनले अपराधीलाई जवाफदेही बनाउँदै करदाताको अर्बौं डलर जोगाइरहेको छ। इन्गलले डेमोक्र्याट सांसदहरूले सरकारी क्षेत्रमा हुने अनावश्यक खर्च, ठगी र दुरुपयोग रोक्न नसकेको आरोपसमेत लगाएका छन्।
इकोनोमिस्ट–युगोभको उक्त सर्वेक्षणमा सहभागीहरू युगोभको अप्ट–इन प्यानलबाट छनोट गरिएका थिए।
उनीहरू अमेरिकी वयस्क नागरिकको प्रतिनिधित्व हुने गरी छनोट गरी दर्ता मतदाता भएको सुनिश्चित गरिएको थियो। सर्वेक्षणको त्रुटि सीमा ३.३ प्रतिशत बिन्दु छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा तयार पारिएको)