राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिजोआज धमाधम जिल्ला अधिवेशनहरू गर्दै नेतृत्व चयन गरिरहेको छ।
राप्रपाले मंगलबारसम्म ६३ जिल्ला अधिवेशन सकेको छ। मंगलबार कैलाली जिल्ला अधिवेशन पनि भएको थियो। उक्त अधिवेशन उद्घाटन कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देन, संसदीय दल नेता ज्ञानेन्द्र शाहीलगायत पनि सहभागी भएका थिए।
राप्रपामा पनि रूपान्तरण र पुस्तान्तरण अभियान चलिरहेको छ, जसको नेतृत्व गरेका छन्- संसदीय दल नेता ज्ञानेन्द्र शाहीले। उनी पार्टी प्रवक्ता पनि हुन्।
राप्रपाको अधिवेशनबाट रूपान्तरण र पुस्तान्तरणका लागि कार्यहरू हुन नसके पार्टी रहे पनि जनताले नपत्याउने शाही बताउँछन्। तर लिङ्देन अब एक कार्यकाल अध्यक्ष बन्ने दौडमा छन्। लिङ्देनलाई ३३ वर्षीय शाहीले चुनौती दिने देखिएको छ।
‘भइसक्यो त, ३५ वर्षको मानिस (बालेन शाह) यो देशको प्रधानमन्त्री छन्, पुस्तान्तरण भएन?,’ कैलाली जिल्ला अधिवेशनमा अध्यक्ष लिङ्देनकै सामु शाहीले भने, ‘नेपाली कांग्रेसमा शेरबहादुर देउवा छाडेर गगन थापाहरू आउँदैछन्, पुस्तान्तरण हुँदैछ।’
गत पुसमा विशेष महाधिवेशन गरेर गगन थापा कांग्रेस सभापति भएका थिए। उनले पनि पार्टीभित्र रूपान्तरण र पुस्तान्तरण अभियान थालेका थिए।
त्यसतर्फ लक्ष्य गर्दै शाहीले कांग्रेसमा पनि पुस्तान्तरण भइसकेको उल्लेख गरेका छन् र अब राप्रपामा पनि पुस्तान्तरणको आवश्यकता औंल्याएका छन्।
‘रूपान्तरण र पुस्तान्तरण अब गर्न सक्नु भएन भने हाम्रो पार्टी त हुन्छ, अध्यक्ष मात्र होइन, वरिष्ठ उपाध्यक्षहरू हुन्छन्, सर्वोच्च नेता पनि होलान् तर जनताले हामीलाई पत्याउँदैनन्। जनताले पत्याएनन् भने त्यो पार्टी रहनु र नरहनुको कुनै अस्तित्व नै रहँदैन यो कुरा याद गर्नुहोला,’ शाहीले भने।
२०७८ मा राप्रपा महाधिवेशन हुँदा तत्कालीन अध्यक्ष कमल थापालाई राजेन्द्र लिङ्देनले पनि यस्तै चुनौती दिएका थिए। उनले समयको पदचाप बुझ्नसमेत त्यसबेला चुनौती दिएका थिए भने लिङ्देनले थापालाई अध्यक्ष हराएका थिए।
संसदीय दल नेता शाहीले आफू धेरै जिल्ला अधिवेशनहरूमा नपुगेको पनि बताएका छन्। जिल्ला अधिवेशनमा जाँदा गुट र उपगुट हुने भन्दै आफू नगएको प्रष्टीकरण उनले दिएका छन्।
उनले पार्टीले लिने नीति स्पष्ट हुनुपर्ने बताए। लिङ्देन नेतृत्वको कार्यसमितिले दोहोरो चरित्र देखाएको आरोप शाहीको छ।
‘हामी कहाँ जाने हो, नीति प्रष्ट हुनुपर्छ, ०८४ मा स्थानीय चुनाव हुन्छ। ०८७ मा चुनाव हुन्छ हामी कहाँ जाने? लहर चलेन भने के गर्ने? यसो पार्टीले उम्मेदवार बनाइहाल्यो बाध्य भएर उम्मेदवार बनेका थिए धेरै जिल्ला अध्यक्षहरूले फेरि त्यस्तै हुन्छ,’ उनले भने, ‘अहिलेको महाधिवेशन नेतृत्व परिवर्तन मात्र होइन, राष्ट्रिय शक्ति र सत्ता पल्टाउने शक्ति बनाउनका लागि पनि हो।’
उनले पार्टी नीतिबारे पनि लिङ्देनलाई लक्ष्य गर्दै प्रश्न गरेका छन्।
‘एमालेलाई रातदिन गाली गर्ने, त्यही एमालेसँग मिलेर चुनाव उठ्ने, प्रदेश चाहिन्न भनेर भन्ने प्रदेशमा चुनाव उठ्ने, कोशीमा सभामुख, लुम्बिनी उपसभामुख खाइरहेका छौं, गण्डकीमा सरकार टिकाउने राप्रपा हो। तर बागमतीमा कारबाही गरिराखेको छ,’ उनले भने, ‘यस्तो दोहोरो चरित्र किन? सबैतिर समान व्यवहार गरौं।’
अध्यक्ष लिङ्देनले देशको समस्या समाधान गर्ने र देशको मुद्दा स्थापित गर्ने बलियो विचार र दर्शनमा आधारित पार्टी बनाउन खोजिएको पनि बताएका छन्।
‘अहिले पार्टी ठूलो र बलियो बन्न सकेको छैन, ठिक हो तर मेरो कारण यो पार्टी खत्तम भएको हो?,’ उनले भने, ‘म अध्यक्ष हुँदा यो पार्टी कुन अवस्थामा थियो, राष्ट्रिय पार्टी थिएन। एक सिट थियो, त्यो म नै थिएँ। ज्ञानेन्द्र शाहीले भन्नुभयो, उहाँ पनि आउनुभयो, अरू साथीहरू पनि आउनुभयो, १४ सिटको पार्टी बनेको थियो। प्रदेशमा २८ सिटको थियो।’
पार्टीमा अहिले ठूला कुरा गर्नेहरू विगतमा सरकारमा जानुपर्छ भन्नेमा रहेर सरकारमा पनि गइएको उनले स्मरण गरेका थिए।