लुम्बिनी प्रदेशका नवनियुक्त प्रमुख सचिव विनोदबहादुर कुँवरले जिम्मेवारी सम्हालेका छन्।
नेपाल सरकार मन्त्रिपरिषद्को भदौ २५ गतेको निर्णयबाट उनी लुम्बिनीको प्रमुख सचिव पदमा बढुवा गरिएका थिए।
उनले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिवको जिम्मेवारी सम्हालेका हुन्।
जिम्मेवारी सम्हालेपछि उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रालयका सचिव तथा कर्मचारीसँग परिचयात्मक कार्यक्रम गरिएको थियो।
त्यसपछि मुख्यमन्त्री चेतनारायण आचार्य, भौतिक पूर्वाधार विकासमन्त्री रत्नबहादुर खत्रीलगायतसंग प्रमुख सचिव कुँवरले भेट गरेका थिए।
त्यसक्रममा प्रदेश सचिव निता पोखरेल अर्यालले लुम्बिनी प्रदेशको समग्र अवस्था, प्रशासनिक संरचना, जनशक्तिको अवस्था तथा प्रदेश सरकारका प्राथमिकताबारे जानकारी गराएकी थिइन्।
प्रमुख सचिव कुँवरले शासन प्रणालीमा सुधार गर्दै नीति निर्माण र त्यसको प्रभावकारी कार्यान्वयन मार्फत परिणाम दिन लाग्नु पर्ने बताएका थिए।
‘शासकीय सुधारको नीति लिएर काम गर्दा परिणाम दिन सकिन्छ,’ उनले भने, ‘ प्रदेश संविधानले दिएको अधिकारअनुसार आफ्नो भूमिका प्रभावकारी बनाउन तर्फ लाग्नुपर्छ।’
प्रदेश सरकारका कामलाई प्रभावकारी बनाउन सामूहिकतामा काम गर्ने अभ्यास आवश्यक रहेको र त्यसमा आफूले जोड दिने उनले बताएका छन्।
कर्मचारीको मनोबल उच्च राखेर काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै कुँवरले उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गरे।
‘म सहकार्यमा विश्वास गर्छु। सबै मिलेर काम गर्दा मात्रै परिणाम दिन सकिन्छ,’ उनले भने।