प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संकटलाई नाफा कमाउने स्वर्णि अवसर ठान्नेहरूप्रति सरकार मुकदर्शक बनेको आरोप लगाएका छन्।
बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद केसीले सरकार नीरिह देखिएकाले अब मौन बस्न उचित नहुने बताएका हुन्।
'संकटलाई नाफा कमाउने स्वर्णिम अवसर ठानेर कालोबजारी गर्नेहरूले मौज्दातमा रहेका खाद्यान्नमा समेत आकास छुने मूल्य बढाएका छन्। चामल प्रतिबोरा २७ सय सूर्यमुखी तेल ३०० तोरीको तेल ४५० चिनी १४० र मासु १७०० पुर्याइएको छ। सागपात र फलफूल सर्वसाधारणले किनेर खाने स्थिति छैन,' उनले भने।
उनले काठमाडौं उपत्यकामा दैनिक ४० हजार सिलिन्डर ग्यासको माग हुँदा आपूर्ति आधा भन्दा कम भएको बताए।
'घन्टौं लाइन बस्दा ग्यास नपाइने तर कालोबजारीमा सजिलैसँग २६ रूपैयाँमा पाइने जुन खालको स्थिति छ। यसले राज्यको अस्तित्व र उपस्थितिलाई गम्भीर रूपमा प्रश्न उठाएको छ,' उनले भने, 'यो अस्वाभाविक बजार चक्र संकटको आडमा रचिएको घिनौना लुट हो।'
यस्तो अवस्थामा कानुनी अधिकारको दुहाइ दिँदै अनुगमन निकायहरू मुक दर्शक र नीरिह बन्नु सरकारको गैरजिम्मेवारीपन रहेको उनले बताए।
'२० प्रतिशत भन्दा बढी नाफा लिन नपाइने नियम केवल कागजमा मात्रै सिमित छ। विपदको बेला नागरिकको चुलो बलेको सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व तर सरकारी निकायहरूको मौनताले विपदको बेला जनताको घाउमा नुनचुक छर्किने काम गरिरहेको छ,' उनले भने।