राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई आफूहरू बिक्री भएको प्रमाण २४ घण्टाभित्र दिन चुनौती दिएका छन्।
बुधबार पार्टी कार्यलय धुम्बाराहीमा ज्ञापनपत्र बुझाउँदै नेता थापाले ‘को बिक्यो, कति रकममा बिक्यो, कसले किन्यो, कहिले, कहाँ र कसरी लेनदेन भयो’ भन्ने विवरणसहित प्रमाण सार्वजनिक गर्न चुनौती दिएका हुन्।
पार्टी केन्द्रको असहमतिबीच थापाले नेकपा एमालेका किरण थापालाई मुख्यमन्त्रीमा सहयोग गरेका थिए। त्यसपछि सरकारमा जाने र सहयोग गर्ने सांसदहरूलाई राप्रपाले कारबाही गरेको थियो।
‘अहिले हामी बिकेको भन्ने जुन कुरा छ, यो प्रमाण देखाउन सक्नुर्पयो। प्रमाण बिनाको कुरा गर्नु हुँदैन, हाम्रा सांसदहरू भेडाबाख्रा जस्तो बिक्री भए जुन शब्दहरू छ, यो कुन तहको शब्द हो? यो कुरामा उहाँले प्रमाण दिनुपर्छ, २४ घण्टा भित्र प्रमाण दिन सक्नुभएन भने सार्वजनिक रूपमा माफी माग्नु पर्छ,’ उनले अध्यक्ष लिङ्देनलाई लक्ष्य गर्दै भने।
गण्डकी प्रदेशमा दुई वर्षदेखि नेपाली कांग्रेसको सरकारलाई राप्रपाको दुई जना सांसदले समर्थन गरे बापतमा सरकार चलिरहेको पनि उनले बताए।
‘यसले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई के फाइदा भएको छ भन्ने कुराको लेखाजोखा गर्ने बेला आएको छ। यो समर्थन गरे बापतमा राप्रपाले के पायो र कसले पायो? हामीले पैसा खायो भन्ने सवालमा प्रमाणित गरोस्, मलाई कारबाही पनि गरोस् म सबै कुरा छोडिदिन्छु। बागमती प्रदेशमा ८ सदस्यीय मन्त्रिमण्डलमा ३ जना हाम्रो पार्टीको तर्फबाट मन्त्रीहरू हुनुहुन्छ भनेपछि हामीले एउटा हक लिएका छौं, हामीले एउटा आफ्नो स्थान लिएका छौं। त्यो हैसियत बमोजिम हामी त्यहाँ गएका हौं। पैसा खाएर कुनै गतिविधि गरेका छैनौं,’ उनले भने।
पार्टी अध्यक्ष लिङदेनले बागमती प्रदेशका आफ्ना सांसदहरूलाई नेकपा एमालेले खरिद गरेको आरोप लगाएका थिए।
उक्त अभिव्यक्ति विरूद्ध बागमती प्रदेश कार्यसमितिको नेतृत्वमा सांसदहरूले महामन्त्री राजेन्द्र गुरूङलाई ज्ञापनपत्र बुझाउँदै आरोप प्रमाणित गर्न चुनौती दिएका हुन्।